विद्यालय पहिरोकाे उच्च जोखिममा परेपछि पठनपाठन प्रभावित

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

तीन सातादेखिको अविरल वर्षासँगै आएको पहिरोले गर्दा लक्ष्मी माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । बडिमालिका नगरपालिका– ७ जिल्लीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयवरिपरि पहिरो जान थालेपछि विद्यार्थी र शिक्षक त्रसित हुनुका साथै पठनपाठनसमेत अवरुद्ध भएको विद्यालयका प्रधानाध्यापक लालचन्द जैसीले बताए । 

‘विद्यालयवरिपरि पहिरो बग्न थालेपछि पहिरोले विद्यालय कति खेर बगाएर लान्छ भन्ने डरले विद्यार्थीहरू विद्यालयमा आउन छोडेका छन् । विद्यालय खुलेको दुई  साता भइसक्यो, स्कुलको वरीपरि पहिरो बगिरहेको छ। पहिरोको त्रासले  विद्यार्थी  विद्यालय आउन छोडेका छन्। विद्यालयमा दुई सय विद्यार्थी भर्ना भए पनि अहिले पहिरोको डरले ठूलो कक्षाको ४५ जना  विद्यार्थी मौसम सफा भएको दिनमा आउने गरेका छन्,’ प्रधानाध्यापक जैसीले भने । 

कक्षा १० मा अध्यनरत धीरेन्द्र विक पहिरोको त्रासले गर्दा सानासाना कक्षका भाइबहिनी विद्यालय आउन नसकेको बताउँछन् । बडिमालिका नगरपालिकाका अन्य विद्यालयमा निरन्तर पढाइ सञ्चालन भइरहेको छ, तर आफूहरू विद्यालय पहिरोको पूर्ण जोखिममा भएको कारण नियमित विद्यालय जान नपाउँदा आफ्नो पढाइको कोर्स पछाडि परेको उनले गुनासो गरे ।

लक्ष्मी माध्यमिक विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । विद्यालयको मूलगेटसम्म पहिरो पुगिसकेको छ। भारी वर्षा आएको समयमा शिक्षक विद्यार्थीलाई पहिरो आएर बगाएर लिन्छ कि भन्ने डरले कक्षाकोठामा राम्रोसँग विद्यार्थीलाई पढाउन सक्ने अवस्था नरहेको शिक्षक प्रअ जैसी बताउँछन् । 

सुझावित समाचार