प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले अबको निर्वाचनमा पार्टीले बहुमत प्राप्त गर्ने गरी ‘मिसन– ८४’ केन्द्रित कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।
केन्द्रीय सचिवालय बैठकले गरेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनसहितको पछिल्लो निर्णयलाई अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै ओलीले देशभरका सबै कमिटीलाई त्यस्तो कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
तीनवटै तहको सरकारमा महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता थपिएको भन्दै उनले तीनवटै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउन भनेका छन् ।
‘केन्द्र र प्रदेश सरकारमा हाम्रो महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता प्राप्त भएको छ । अब मिसन– ८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्दछ,’ ओलीको निर्देशनमा भनिएको छ, ‘राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको छ । पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउनुपर्दछ । स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिंगो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्दछ ।’