अनुदानमा कृषियन्त्र दिने प्रलोभन देखाएर किसानलाई ठगी

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

अनुदानमा पावर टिलर ट्याक्टर पाउने आसमा कैलारी गाउँपालिका– ६ बेनौलीका पल्टुराम चौधरीले गत जेठमा गाउँकै शिक्षक विनोद चौधरीलाई एक लाख रुपैयाँ बुझाए । उनलाई बाल सशक्तीकरण नामक संस्थाबाट १५ असारमा पावर टिलर दिने भनिएको थियो । तर, चौधरी न पावर टिलर पाएका छन्, न पैसा फिर्ता । ‘एक लाखमा पावर टिलर दिने भनेपछि ऋणसापट गरेर पैसा बुझाएँ, तर पावर टिलर पाइएन,’ चौधरीले भने, ‘विनोद सरले अहिले पैसा फिर्ता गर्छु भन्नुभएको छ ।’ 

कैलारी– ५ बिसनपुरका मानबहादुर चौधरीले पनि ५० प्रतिशत अनुदानमा पावर टिलर पाउने आसले पैसा बुझाएका छन् । गाउँका शंकर चौधरीमार्फत सुरो नेपाल नामक संस्थाको खातामा ५८ हजार ७५० रुपैयाँ जम्मा गरेको उनले बताए । अनुदानमा ट्याक्टर दिने भनेर गाउँमा धेरैबाट पैसा असुलेर नदिएको अहिले सुनिएकाले आफूले पनि ट्याक्टर पाउँदैन कि भन्नेमा उनी चिन्तित छन् ।

अनुदानमा कृषियन्त्र उपलब्ध गराउने भन्दै कैलारीमा दर्जनौँ किसानबाट विभिन्न संस्था र व्यक्तिले लाखौँ रुपैयाँ संकलन गरेर ट्याक्टर वितरण नगरेको खुलेको छ । ५० प्रतिशत अनुदानमा पावर टिलर र सिँचाइ मोटर दिने भन्दै प्रतिकिसानबाट एक लाख २० हजार रुपैयाँसम्म उठाएको पाइएको छ, तर पैसा तिरेका कुनै पनि किसानले कृषियन्त्र पाएका छैनन् । 

घटना बाहिरिएपछि पैसा फिर्ता गर्ने सहमति
किसानलाई पावर टिलर अनुदानमा दिने भन्दै ठगी आरोप लागेका सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरीले पैसा फिर्ता गर्ने सहमति गरेका छन् । पावर टिलर नपाएपछि किसानले कैलारी गाउँपालिका गुहार्न थालेपछि चौधरीले एक साताभित्र पैसा फिर्ता गर्ने लिखित कागज गरेका हुन् । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले किसानको उजुरी परेपछि दुवै पक्षलाई बोलाएर एक हप्ताभित्र पैसा फिर्ता गर्ने सहमति गरिएको बताए । ‘सुरो नेपाल नामक संस्थाले कृषकलाई अनुदानमा कृषियन्त्र दिने भनेपछि केही सहकारी र व्यक्तिले सुरो नेपालबाट यन्त्र दिने भनेर रकम उठाएका रहेछन् । हामीले गाउँपालिकामा बोलाएर छलफल गर्दा संस्थाका प्रतिनिधिले कुन कार्यक्रमअन्तर्गत अनुदानमा यन्त्र वितरण गर्न लागिएको हो भनेर स्पष्ट बताउन सकेनन्,’ कैलारी गाउँपालिका अध्यक्ष चौधरीले भने, ‘हामीकहाँ सम्पर्कमा आएका किसानबाट मात्र साढे तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेको देखिएको छ । करिब एक करोड रुपैयाँ फिर्ता गर्न बाँकी छ ।’ तर, रकम फिर्ता गर्ने लिखित कागज गरेका पूर्वमन्त्रीका स्वकीय सचिव चौधरीले भने आफूले किसानबाट पैसा नठाएको दाबी गरे । गाउँपालिकाले प्रहरी बोलाएर जबर्जस्ती कागज गराएको उनको दाबी छ । 

पावर टिलर उपलब्ध गराउने भन्दै पैसा उठाएको आरोप लागेका स्थानीय सरस्वती माविका शिक्षक विनोद चौधरी र स्थानीय रामशरण महतो तथा कालीमाई र अखुवा कृषि सहकारीले पनि पैसा फिर्ता गर्ने सहमति गरेका हुन् । उनीहरूले सुरो नेपाल नामक गैरसरकारी संस्थामार्फत ५० प्रतिशत अनुदानमा पावर टिलर उपलब्ध गराउने भन्दै ठगी गरेको आरोप छ । शंकरले २२ किसानको २६ लाख ४० हजार फिर्ता गर्ने लिखित सहमति गरेका छन् । 

शिक्षक विनोदले ९५ जना किसानबाट एक लाख रुपैयाँका दरले ९५ लाख र महतोले ३१ लाख उठाएको पाइएको कैलारी गाउँपालिकाले जनाएको छ । उनीहरू दुवैजनाले बाल सशक्तीकरण नेपाल नामक संस्थाको प्रतिनिधि भएको भन्दै पैसा उठाएका थिए । कैलारीमा रहेका कालीमाई र अखुवा कृषि सहकारीले सुरोसँगको सहकार्यमा पावरटिलर उपलब्ध गराउने नाममा पैसा उठाएका थिए ।

राजसमझ चौधरी, अध्यक्ष, कैलारी गाउँपालिका 

सुरो नेपाल नामक संस्थाले कृषकलाई अनुदानमा कृषियन्त्र दिने भनेपछि केही सहकारी र व्यक्तिले रकम उठाएका रहेछन् । हामीले गाउँपालिकामा बोलाएर छलफल गर्दा संस्थाका प्रतिनिधिले कुन कार्यक्रमअन्तर्गत अनुदानमा यन्त्र वितरण गर्न लागिएको हो भनेर स्पष्ट बताउन सकेनन् । हामीकहाँ सम्पर्कमा आएका किसानबाट मात्र साढे तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेको देखिएको छ । करिब एक करोड रुपैयाँ फिर्ता गर्न बाँकी छ ।

See More On

सुझावित समाचार