थाइल्यान्डको संवैधानिक अदालतले देशको सबैभन्दा लोकप्रिय पार्टीलाई विघटन गर्ने आदेश दिएको छ । पार्टीले चुनावमा कठोर ‘लेज म्याजेस्टे’ कानुनमा सुधार गर्नुपर्ने मुद्दा उठाएको औँल्याउँदै अदालतले यो निर्णय गरेको हो । फैसलामा पार्टीका कार्यकारिणी समितिमा रहेका नेताहरूलाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्धसमेत लगाइएको छ ।
मुभ फरवार्ड पार्टीले सन् २०२३ को चुनावमा देशको राजनीतिक प्रणालीमा परिवर्तन गर्नुपर्ने र राजतन्त्रको आलोचना गरेको आरोपमा १५ वर्षसम्म कैद हुने कानुनमा संशोधन हुनुपर्ने मुद्दा लिएको उठाएको थियो । ती मुद्दाकै बलमा ऊ सबैभन्दा धेरै मत जित्न सफल भयो । जनवरीमा सोही अदालतले लेज म्याजेस्टे कानुनलाई सुधार गर्नुपर्ने माग गैरकानुनी करार गर्दै त्यस्ता प्रयास बन्द गर्नुपर्ने निर्णय गरेको थियो । पछिल्लो निर्णयमा जनवरीको फैसलालाई पछ्याइएको छ ।
फैसलापछि पार्टीको मुख्यालयमा बोल्दै नेता पिताले आफ्नो आन्दोलन जारी रहने र अब आफूहरू नयाँ पार्टी तथा नेतृत्व गठन गरेर अघि बढ्ने बताए । मुभ फरवार्डका हालका सांसदहरू नयाँ बन्ने पार्टीमा सामेल हुनेछन् । सो पार्टीबारे थप विवरण शुक्रबार सार्वजनिक गरिने पिताले बताए । थाइल्यान्डको अदालतले देशको संस्थापनविरुद्ध बोल्ने पार्टीलाई बारम्बार विघटन गर्ने निर्णय गर्दै आएको छ ।
मुभ फर्वार्ड पनि यसको पूर्ववर्ती दल फ्युचर फर्वार्डलाई सन् २०२० मा विघटित गरिएपछि स्थापना गरिएको थियो । फ्युचर फर्वार्डलाई निर्वाचन कोषसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा अदालतले भंग गरेको थियो । तथापि यसका समर्थकले पनि सो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाए । उक्त फैसलापछि आमयुवावर्ग क्रुद्ध हुँदै विरोध प्रदर्शनमा उत्रिएका थिए । त्यस वेला भएको प्रदर्शनमा देशलाई थप लोकतान्त्रिक बनाउन परिवर्तनको आह्वान गर्नुका साथै राजतन्त्रमा पनि सुधारको माग उठेको थियो ।
अहिले थाइल्यान्डमा कम्तीमा २७२ मानिसलाई लेज–म्याजेस्टेको आरोप लागेको छ । मे महिनामा यही कानुनअन्तर्गत अभियोग लागेका २८ वर्षीय राजनीतिक कार्यकर्ता नेतिपोर्न सानी–साङ्खोम राजनीतिक बन्दीको जेल सजाय माफी हुनुपर्ने माग राख्दै ६५ दिनसम्म अनशन बसे । तर, मागको कुनै सुनुवाइ नभई उनको मृत्यु भयो ।