दोस्रो संस्करणको काबुल प्रिमियर लिगमा खेल मिलेमतो गरेको भन्दै अफगानिस्तानी सिनियर टोलीबाट खेलिसकेका इहसानुल्लाहमाथि अफगानिस्तान क्रिकेट बोर्डले लगायो पाँच वर्षको प्रतिबन्ध
अफगानिस्तानका क्रिकेट इहसानुल्लाह जनत म्याच फिक्सिङमा दोषी भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)ले बुधबार इहसानुल्लाहलाई पाँच वर्ष घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ । यसै वर्ष काबुलमा भएको दोस्रो संस्करणको काबुल प्रिमियर लिगमा उनले खेल मिलेमतो गरेको ठहर एसिबीको छ । उनी अफगानिस्तानका पूर्वकप्तान नारोज मंगलका भाइ हुन् । लिगको दोस्रो सेसनमा खेल मिलेमतो गरेका इसहसानुल्लाहलाई आइसिसी कोर्डअनुसार कारबाही गरिएको एसिबीले जनाएको छ ।
‘आइसिसीको आर्टिक २.१.१ अनुसार जनत खेल मिलेमतोमा दोषी ठहर भएका छन्, आफ्नै टोलीलाई हराउने मनसाय तथा नतिजा प्रभावित पार्ने उद्देश्यका साथ खेलेको देखिन्छ,’ एसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खेल मिलेमतो गरी राष्ट्रको इज्जत धमिलो पार्ने कोसिस गरेका क्रिकेटरलाई कारबाहीका रूपमा पाँच वर्ष कुनै पनि खेल खेल्न नपाउने निर्णय बोर्डले गरेको छ ।’
एसिबीले काबुल प्रिमियर लिगमा अन्य खेलाडीमाथि छानबिन भइरहेको जनाएको छ । ‘अहिले मुख्य खेलाडीलाई मात्र कारबाही गरेका छौँ । लिगमा तीन खेलाडीमाथि पनि फिक्सिङ गरेको आशंका छ,’ एसिबीले भनेको छ, ‘प्रमाण संकलनका क्रममा छौँ । दोषी हुने खेलाडीलाई कडा कारबाही हुनेछ ।’
काबुल लिगमा इहसानुल्लाहले समसाद इगल्सबाट प्रतिस्पर्धा गरेका थिए । उनले पाँच खेलमा ७२ रन मात्र जोडेका थिए । उनी आबद्ध टोलीले लिगमा एक मात्र जित निकालेको छ । अफगानिस्तानको राष्ट्रिय टोलीबाट उनले १६ अन्तर्राष्ट्रिय एकदिवसीय खेले ।
उनले एकदिवसीय खेलमा तीन अर्धशतकको मद्दतमा तीन सय सात रन जोडेका छन् । तीन टेस्टमा अवसर पाउँदा उनले २० रन बनाए । सन् २०२२ मा उनले जिम्बावेविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेका थिए ।