नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशी नागरिक मोहम्मद युनुस बिहीबार स्वदेश फर्किने भएका छन् । बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्ने निर्णयपछि देश फर्किन लागकेो उनको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २:१० बजे राजधानी ढाका आइपुग्ने उनको कार्यालयले जानकारी गराएको हो ।
बंगलादेशका राष्ट्रपतिले बुधबार नै नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् । देश फर्किएलगतै उनलाई अन्तरिम सरकारको नेतृत्वको रुपमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो । राष्ट्रपति मोहम्मद साहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखसँग विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।
‘बैठकले प्रा. डा. मोहम्मद युनुसलाई प्रमुख बनाएर अन्तरिम सरकार गठन गर्ने निर्णय गरेको छ,’ साहबुद्दिनको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको थियो । युनुसले यसअघि नै आवश्यक परे अन्तरिम सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताएका थिए । ‘यदि बंगलादेशमा मेरो देश र साहसी जनताका लागि जिम्मेवारी आवश्यक छ भने म यो लिनेछु,’ विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि युनुसले एक विज्ञप्तिमार्फत भने ।