कोरोना बिमाको बाँकी दाबी भुक्तानीको पहल भइरहेको छ : अध्यक्ष सिलवाल

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बिमाको बाँकी दाबी भुक्तानीको पहल भइरहेको बताएका छन् । प्राधिकरणको आयोजनामा विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तक्र्रिया एवं छलफल कार्यक्रममा अध्यक्ष सिलवालले सो कुरा बताएका हुन् । 

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा सचेतना अभिवृद्धि र दायरा विस्तारका लागि प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताए । बिमा दाबी भुक्तानीलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै अध्यक्ष सिलवालले कोरोना बिमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको र त्यसमा सरकार सकारात्मक रहेको जानकारी दिए । 

अध्यक्ष सिलवालले विद्यालयका पाठ्यक्रममा बिमा विषय समावेश गर्नका लागि पहल गर्न आग्रह गर्दै कृषि तथा पशुपक्षी बिमामा देखिएका समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे । 

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न किसिमका जोखिमको आकलनसहित बिमासम्बन्धी विषय समेटेर छिट्टै प्रदेश बिमा नीति कार्यान्वयनमा ल्याउने र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बिमा इकाइ स्थापना गर्ने जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले गरिबी न्यूनीकरणका कार्यक्रमलाई बिमासँग आबद्ध गरेर अघि बढाउन र बिमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणसँग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए । 

उनले बिमितले बिमा कम्पनीहरूबाट समयमै दाबी भुक्तानी पाउने सुनिश्चित गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रहसमेत गरे । कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा क्षेत्रको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिकासम्बन्धी प्रस्तुति दिए । 

सुझावित समाचार