मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री सिंहले मंगलबार कांग्रेसबाट दुई, जनमत, एमाले र लोसपाबाट एक–एक गरी पाँच राज्यमन्त्री थप गरेका छन् । योसँगै मन्त्रिपरिषद् २० सदस्यीय पुगेको छ, जुन अहिलेसम्मकै ठूलो आकारको हो ।
कांग्रेसबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा महोत्तरीकी रेखा ठाकुर र ऊर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा सप्तरीकी निलम रजक नियुक्त भएका छन् । लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा सिराहाका रामबाबु यादव, जनमतबाट उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा सप्तरीका शम्भु साह र एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा रौतहटका मोहम्मद जयद आलमलाई नियुक्त गरिएको छ । उनी यसअघि प्रदेशकै मन्त्री भइसकेका थिए ।
उनीहरूलाई मुख्यमन्त्री सिंहले मंगलबार नै पद तथा गोपनीयताको शपथ गराए । यसअघि एमालेबाट दुईजना राज्यमन्त्री भइसकेका छन् । मधेशमा मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्मा जनमतबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र दुई राज्यमन्त्री गरी पाँच, एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्री गरी सात, कांग्रेसबाट चार मन्त्री र दुई राज्यमन्त्री गरी ६ र लोसपाबाट एक मन्त्री र एक राज्यमन्त्री गरी दुईजना सदस्य छन् ।
सतिशकुमार सिंह मुख्यमन्त्री, मधेश प्रदेश
ठूल्ठूला पार्टी मिलेर सरकार बनेकाले सबैलाई चित्त बुझाउने गरी मन्त्रिपरिषद् विस्तार गरेको छु । संविधानको बर्खिलाप हुने गरी सरकार विस्तार गरेको छैन । ठूलो क्याबिनेट भएकाले खर्च बढ्नु स्वाभाविक हो । तर सरकारमा रहेका सबै मन्त्रीहरूलाई जिम्मेवारी दिएर काममा लगाउँछु । जसको पफर्मेन्स राम्रो हुँदैन उसलाई फिर्तासम्म बोलाउने नीति लिएको छु ।