नेपालले काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताको उपाधि भिडन्तमा भारतविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल खेल बुधबार साँझ ५ बजे र इरान र श्रीलंकाबीच तेस्रो स्थानका लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । नेपालले मंगलबार दोस्रो सेमिफाइनलमा इरानमाथि ३–० को सोझो सेटको जित निकाली भारतविरुद्धको फाइनल पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई सहजै पाखा लगाएको थियो । नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदै एक–आपसमा सेमिफाइनलमा भिडेका हुन् ।
पछिल्लो संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण नेपालले जितेको थियो । नेपालको उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा भारत बाधक बनेको थियो । घरेलु कोर्टमा नेपाली महिला खेलाडीले फाइनलमा भारतलाई कडा चुनौती दिने योजना बनाएका छन् । यद्यपि, लिग चरणमा नेपालले दक्षिण एसियन जाइन्ट भारतलाई सनसनी रूपमा पाँच सेटमा हराएको थियो । इतिहासमै पहिलोपटक नेपालले भारतलाई स्तब्ध पारेको त्यही नै थियो ।
नेपालले लिगमा चौथो जित निकाली फाइनल यात्रा तय गरेको हो । तेस्रोपटक उपाधि उचाल्न नेपाल एक जित टाढा रहेको छ । इरानसँग लिग चरणमा भोगेको हारको बदला लिँदा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । नेपालले अन्तिम सेट २५–२० ले बाजी मार्यो । नेपालले दोस्रो र तेस्रो सेटमा इरानको युवा टोलीबाट कडा चुनौती पाएको थियो । यी दुवै सेटको एक समयमा इरानले उपाधि दाबेदार नेपालमाथि अग्रता बनाएको थियो । नेपालले संयमित हुँदै खेलमा नियन्त्रण राख्दा इरानी खेलाडी हाबी हुन पाएनन् ।
आत्मविश्वासी नेपाली खेलाडी
लिगमा लगातार खेल खेलिरहँदा इरानविरुद्धको अघिल्लो प्रतिस्पर्धामा नेपाली खेलाडी थकित देखिएका थिए । तर, सोमबार माल्दिभ्सविरुद्धको प्रतिस्पर्धामा दोस्रो रोजाइका खेलाडीले मौका पाउँदा पहिलो सेटका खेलाडीले आराम गर्ने अवसर पाए । यही रेस्टका कारण नै नेपालले लिग चरणमा बलियो देखिएको इरानलाई फाइनल प्रवेशको खेलमा सीधा सेटमा पाखा लगाउन सफल भयो । नेपालले पहिलो सेटमा इरानलाई २५–२१ ले हरायो ।
यस सेटमा नेपालले महŒवपूर्ण ६ अंकको अग्रता गुमाएको थियो । नेपालको कमजोर डिफेन्सको फाइदा लिँदै पहिलो सेटको सुरुमा इरान ५–१ ले अगाडि बढ्यो । नेपाल लगातार ४ अंक जोड्दै ६–५ अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६–१० को बलियो अग्रता लियो । खेलको एक समय २०–२२ को अवस्थामा पुगेको थियो । त्यसपछि नेपाल पछि नपरी २५–२१ ले विजयी भयो ।
रोमाञ्चक दोस्रो सेट
बलियो डिफेन्स भएको इरानले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो सेट जित्न इरानलाई केवल एक अंकको आवश्यकता थियो । नेपालले इरानलाई रोक्न निश्चित तीन अंक जोड्नुपर्ने थियो । नेपालले लगातार तीन अंक बटुली खेललाई २४–२४ को रोमाञ्चक स्थितिमा पुर्यायो । बराबरी अंक गरेपछि नेपाली खेलाडीमा आत्मविश्वास उच्च रह्यो । कुनै गल्ती नगरी नेपालले दोस्रो सेट २८–२६ ले जित्दै २–० को अग्रता बनायो । यसअघि, दोस्रो सेटको सुरुमा २–० को अग्रता इरानले लिएको थियो । नेपालले खेलमाथि नियन्त्रण लिँदै १०–५ को अग्रता लियो । नेपालको सामान्य गल्तीमा इरानले खेल २०–२० को अवस्थामा पुर्यायो ।। त्यसपछि इरानले अग्रता लिँदै २४–२१ को अवस्थासम्म पुग्यो । नेपालले लगातार ३ अंक जोडेर २४–२४ गरेको थियो । त्यसपछि दुवै टोलीले पालैपालो अंक जोड्यो । अन्तिममा नेपालले लगातार दुई अंक जोडी २८–२६ ले दोस्रो सेट जित्यो ।
प्रतिस्पर्धात्मक तेस्रो सेट
इरानले नेपालविरुद्ध तेस्रो सेट पनि उत्कृष्ट सुरुवात गरेको थियो । नेपालले सर्भिस र डिफेन्समा कमजोर प्रदर्शन गर्दा इरानले १२–८ को अग्रता बनाएको थियो । तर, संगठित रूपमा नेपालले प्रदर्शन गर्दै इरानविरुद्ध अंक बराबरी गर्ने अवसर खोजिरहेको थियो । नेपालले एकैपटक १५–१४ को अंकमा मात्र अग्रता बनाएको थियो । तेस्रो सेटमा अग्रता लिएपछि नेपालले पछाडि फर्केर हेर्नुपरेन । नेपालले अग्रता लिँदा इरानले दुईपटक टाइम आउट लिएको थियो । इरानलाई १८ अंकमा रोक्दै नेपालले २२ स्कोर गरेको थियो । त्यसपछि नेपालले इरानलाई मौका नदिई २५–२० ले हराउँदै सोझो सेटको जित निकाली फाइनल स्थान सुरक्षित गर्यो । यसअघि तेस्रो सेटमा इरानले १०–७ को अग्रता बनाएको थियो । नेपालले २३–१९ को बलियो अग्रता लियो ।
भारतले श्रीलंकालाई हरायो
प्रमुख दाबेदार भारत श्रीलंकालाई सोझो सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । श्रीलंका भारतसँग लिगमा दोस्रोपटक पराजित भएको हो । श्रीलंकासँग लिग चरणमा भोगेको हारको बदला लिने अवसर थियो ।
श्रीलंकाले सुरुमा भारतलाई चुनौती दिँदै ७–६ को अग्रता लियो । उत्कृष्ट फर्ममा रहेको भारतले लगातार ८ अंक जोड्दै १४–७ स्थितिमा सेट पुर्यायो । श्रीलंका दोस्रो सेटमा खेलाडी परिवर्तन गर्यो । भारतले दोस्रो सेट २५–१६ ले हात पार्यो । तेस्रो सेटमा पुनरागमन गरेको श्रीलंकाले १२–८ को अग्रता बनाएको थियो । अनुभवी भारतले सहजै तेस्रो सेट २५–२३ ले जित्यो ।

