इन्द्रायणी–पासिखेल सडकखण्ड ११ दिनदेखि अवरुद्ध

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

शंखरापुर नगरपालिका– ९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणी सडकखण्ड ११ दिनदेखि अवरुद्ध भएको छ। लगातारको वर्षापछि गत ११ साउनमा पासिखेलमा पहिरोले सडक भासिएको थियो।

त्यसयता सो खण्ड भएर सवारीसाधनहरू संचालनमा समस्या भएको छ। सो सडकखण्ड भएर शंखरापुर नगरपालिकाको सानागाँउ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिकस्थल कागेश्वोरी धाम, गागलफेदी र सातघट्टे जान सकिन्छ।

दैनिक सयौँ सवारीसाधन चल्ने र त्यसक्षेत्रका स्थानीयले नियमित आवतजावत गर्ने सडक अवरुद्ध भएपछि सरोकारवाला निकायका अधिकारीहरूले आज अवलोकन गरेका छन्।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, काठमाडौं क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य प्रतीमा गौतम, संविधान सभा सदस्य रामेश्वर फुयाँल, बागमती प्रदेशका पूर्ववन तथा वातावरणमन्त्री राजु बिस्ट, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख, विभिन्न वडाका अध्यक्ष तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत अवलोकनमा सहभागी थिए।

सो क्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्केले अवरुद्ध सडकखण्ड तत्काल संचालनमा ल्याउन बागमती प्रदेश सरकारले तत्कालै आवश्यक पहल कदमी लिने प्रतिबद्धता व्यक्त गरे।

सुझावित समाचार