मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आमनागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन्। त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उनको भनाइ छ।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै उनले नयाँ मिडियासहितले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिए।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्त रूपमा अवगत गराएको थियो।

अध्यक्ष बस्नेतले युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न कार्य गर्दै आएको जानकारी दिए। अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद शृंखलाहरू काउन्सिलले थालेको उनले बताए।

भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरू दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झवीन्द्र भुसाल सहभागी थिए। साथै, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल भेटमा सहभागी थिए।

सुझावित समाचार