पढ्ने बानी बसाल्न सामुदायिक विद्यालयमा पुस्तकालय

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

साना बालबालिकामा पठन संस्कृतिको विकास गर्न सल्यानका सामुदायिक विद्यालयमा बालमैत्री पुस्तकालय स्थापनालाई तीव्र पारिएको छ। प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकामा पठनसीप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले बालमैत्री पुस्तकालय स्थापना गर्ने काम भइरहेको हो।

पुस्तकालयमा विद्यालय पुस्तक, सामान्य ज्ञान, विभिन्न खालका अंग्रेजी र नेपाली भाषाका शब्दकोश, पत्रपत्रिका तथा मानवीय रुचिका पुस्तक सहजै रूपमा पाइने भएकाले बालबालिकाले फुर्सदको समयमा पुस्तकालयको सदुपयोग गर्ने गरेको पुस्तकालय स्थापना गरेका सामुदायिक विद्यालयले जनाएका छन्। हिजोआज कक्षा १, २ र ३ का बालबालिकाले पुस्तकालयमा पुग्ने र स्तरअनुसारका पुस्तक, विषयवस्तुमा आधारित बालपुस्तक छानीछानी पढ्ने गरेका छन्।

रुम टु रिड, सल्यानले जिल्लाका शारदा नगरपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाका विद्यालयमा पुस्तकालय स्थापना गरेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिए। जिल्लाका १२२ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको र यसै वर्ष थप २५ विद्यालयमा पुस्तकालय स्थापना हुने उनको भनाइ छ। विद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यालयमा अध्ययनरत बालबालिकाको पढ्ने बानीमा सुधार आएको वलीको दाबी छ।

राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोटका शिक्षक डम्बरबहादुर रोकायले पुस्तकालयले बालबालिकामा पढाइतर्फ जागरुक हुन प्रेरणा दिएको बताए। सिद्ध आधारभूत विद्यालय फलाबाङकी शिक्षिका रिता वली रावतले विद्यालयमा अध्ययनरत ९८ बालबालिकाका लागि आठ सयभन्दा बढी पुस्तक पुस्तकालयमा राखिएको बताइन्। 

त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले विद्यालयमा पुस्तकालय स्थापना भएपछि बालबालिकाले आफूहरूसँग नभएका पुस्तक पुस्तकालयमा आएर पढ्न थालेको बताए। ‘अहिले पालिकाभित्रका १६ वटा विद्यालयमा पुस्तकालय छ, हामीले बाँकी १२ वटा विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजना बनाएका छौँ,’ उनले भने। 
 

सुझावित समाचार