नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन्। हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन्।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको छ। हमालले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन्।
सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दै छु।’
पछिल्लोपटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात् महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन्। बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए। एक्सनप्रधान रहने फिल्ममा हमालले झन्डै आठ वर्षपछि कमब्याक गर्ने भएका हुन्।
आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ।
निर्देशक दिवाकरले फिल्मको कथावस्तु मन पराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दाबी गरेका छन्।