नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआइएमबी एस क्यापिटलले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको १२ वर्ष पूरा भएको छ । कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्ट्रार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवाजस्ता सुविधा प्रदान गर्दै आएको छ । एनआइएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फन्ड योजना र २०१९ मा पहिलो खुलारूपी म्युचुअल फन्ड लन्च गरेको थियो ।
१२औँ वार्षिकोत्सवमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले यहाँसम्म आइपुग्नुमा ग्राहकको योगदान तथा कर्मचारीको मिहिनेत र लगावले सम्भव भएको बताए । हाल कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फन्डको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रुपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै आएको छ । त्यस्तै, साथै ५० हजारभन्दा बढी डिम्याट खाता र दुई सयभन्दा बढी आइपिओ–एफपिओ जारी गरिसकेको छ ।
त्यस्तै, कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड– एनआइबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्छ । हालसम्म एनआइबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ । त्यस्तै, कम्पनीले पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताका लागि विभिन्न विकल्पसमेत प्रदान गर्दै आइरहेको जनाएको छ ।