सरकारले अझै दिएन ‘हिमालय ट्राभल मार्ट’को २५% भुक्तानी

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

सरकार र निजी क्षेत्रले गत वर्ष काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन ‘हिमालयन ट्राभल मार्ट’मा भएको खर्चमध्ये सरकारले व्यहोर्नुपर्ने २५ प्रतिशत अझै भुक्तानी हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमलगायत पर्यटन क्षेत्रका संघ–संस्थाहरूको सहयोग तथा समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ०८० को जेठ २३ देखि २६ सम्म काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना गरेको थियो । मार्टमा विभिन्न २५ देशका सात सयभन्दा बढी प्रतिनिधि सहभागी भएको पाटा नेपालले जनाएको थियो ।

नेपाल पर्यटन बोर्ड र पाटा नेपालको साझेदारीमा सञ्चालित ट्राभल मार्टमा खर्च भएको कुल दुई करोड रुपैयाँमध्ये एक करोड २५ लाख रुपैयाँ पाटा नेपालले व्यहोरेको थियो । तर, सरकारको तर्फबाट हुनुपर्ने ७५ लाख रुपैयाँ अझै भुक्तानी हुन नसकेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिए । उनले भने, ‘बोर्डमा धनञ्जय रेग्मीज्यू प्रमुख कार्यकारी हुँदा रोकिएको भुक्तानी अहिलेसम्म चुक्ता हुन सकेको छैन । हामी अहिले शोधभर्ना गर्ने प्रक्रियामा छौँ ।’ 

पर्यटन बोर्डले हिमालयन ट्राभल मार्ट र एड्भेन्चर्स ट्राभल मार्ट सफल पार्ने भनेर समिति नै गठन गरेको थियो । पाटा मुख्यालयले जेठ ०८० मै पर्यटकीय नगरी पोखरामा वार्षिक शिखर सम्मेलन र एडभेन्चर्स ट्राभल मार्ट आयोजना गरेको थियो । विविध कारणले दुवै कार्यक्रमको भुक्तानीमा ढिलाइ भइरहेको पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए । उनले भने, ‘अहिले पर्यटन बोर्ड कार्यकारी प्रमुखविहीन छ । यसैले दुवै कार्यक्रमको भुक्तानीका सम्बन्धमा समितिले आफ्नो प्रतिवेदन बोर्डको कार्यकारी समितिमा पेस गरेर उपयुक्त निर्णय लिने क्रममा छौँ ।’ 

सुझावित समाचार