ग्रामीण भेगलाई बजारसँग जोड्न नगर बस चलाउँदै धनगढी उपमहानगर

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

नगरभित्रका ग्रामीण क्षेत्रहरूलाई धनगढी मुख्य बजारसँग यातायात सुविधा जोड्न धनगढी उपमहानगरपालिकाले नगर बस सञ्चालनको तयारी गरेको छ । उपमहानगरले दुई करोड ४८ लाख रुपैयाँको लागतमा ६ वटा आधुनिक बस खरिद गरेर सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको हो । कैलारी गाउँपालिकासँग जोडिएको धनगढीको पूर्वी ग्रामीण क्षेत्र फूलबारी तथा गोदावरी नगरपालिकासँग जोडिएका बस्तीदेखि धनगढी बजारसम्म नगर बस सञ्चालन गरिने उपमहानगरले जनाएको छ । ३२ सिट क्षमताका नगर बस टेन्डरमार्फत छनोट हुने निजी कम्पनी वा फर्मले सञ्चालन गर्नेछन् । बस सञ्चालन हुने रुट र भाडा भने उपमहानगरले तोक्ने बताइएको छ ।

नगर प्रमुख गोपाल हमालले ग्रामीण भेगका बासिन्दालाई बजारसम्म आउजाउ गर्न सहज आवागमनका लागि नगर बस सञ्चालन गर्न लागिएको बताए । नगर बस सञ्चालन भए ग्रामीण क्षेत्रका कृषकलाई कृषिउपज बसबाट बजार ल्याएर बिक्री गर्न सहज हुनुका साथै बिरामी र विद्यार्थीसमेत लाभान्वित हुने उनले बताए । ‘कृषकलाई आफूले उत्पादन गरेका वस्तु बजार ल्याएर बिक्री गर्न समस्या छ,’ नगर प्रमुख हमालले भने, ‘ग्रामीण क्षेत्रबाट उपचारका लागि बजार आउने अशक्त, बिरामी र अध्ययनका लागि बजारमा डेरा लिएर बस्नुपर्ने विद्यार्थी नगर बस सञ्चालन भए लाभान्वित हुनेछन् ।’ बजारसँग यातायात जोडेर ग्रामीण भेगलाई चलायमान बनाउन नगर बस सञ्चालन गर्न लागिएको उनले बताए ।

धनगढी बजार क्षेत्रका विद्यालय तथा क्याम्पसमा पढ्ने ग्रामीण भेगका विद्यार्थीलाई आउन–जान पनि सहज हुने उपमहानगरले जनाएको छ । ‘ग्रामीण भेगलाई सहरसँग जोडेर ग्रामीण जीवनलाई चलायमान बनाउन खोजेका हौँ,’ हमालले भने, ‘त्यसको कडीका रूपमा नगर बस सञ्चालन गर्दै छौँ ।’ सुरुमा फूलबारीलाई केन्द्रमा राखेर नगर बस सञ्चालन गरिने र उर्मालगायत ग्रामीण क्षेत्रमा पनि नगर बस विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए । उपमहानगरका आइटी इन्जिनियर अनुप भट्टले सुरक्षाका लागि नगर बसमा सिसी क्यामराका साथै जिपिएस सिस्टम पनि जडान गरिएको जानकारी दिए । 

जिपिएस सिस्टमबाट सेवाग्राहीले मोबाइल एप्सको प्रयोग गरेर नगर बस कहाँ पुग्यो भनेर पनि हेर्न सकिने उनले बताए । 
नगर बसमा सुदूरपश्चिमका विभिन्न समुदायको कला, संस्कृति, वेशभूषा झल्कने पहिरन तथा यहाँका पर्यटकीय गन्तव्यका तस्बिर टाँसिएका छन् । विभिन्न समुदायको संस्कृति र पर्यटकीय क्षेत्रको पहिचानका लागि नगर बसमा फोटोहरू टाँसिएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन् । नगरवासीको सुविधालाई ध्यानमा राखेर नगर बस सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ ।

सुझावित समाचार