अवामी लिगमाथिको चुनौती

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

सन् १९५१–५२ मा भारतमा पहिलो आमचुनाव हुँदै गर्दा पाकिस्तानले महत्वपूर्ण उथलपुथलको सामना गरिरहेको थियो । २७ जनवरी १९५२ मा पाकिस्तानका प्रधानमन्त्री ख्वाजा नाजिमुद्दिनले मोहम्मद अली जिन्नाहको योजनाअनुरूप उर्दुलाई एक मात्र राज्य भाषाका रूपमा घोषणा गरे । यसले पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा व्यापक विरोध प्रदर्शन निम्त्यायो । विरोध प्रदर्शनमा भएको दमनका कारण सलाम, बरकत र अन्यले भाषा सहादत पाएका थिए । त्यसपछि जेलमा परेका सेख मुजिबुर रहमानले आन्दोलनको नेतृत्व गरे र ९ जुलाई १९५३ मा पूर्वी पाकिस्तान अवामी मुस्लिम लिगको महासचिवमा निर्वाचित भए ।

अवामी मुस्लिम लिगको भाषा आन्दोलनले सहिद सुहरावर्दी, एकेफजलुल हक र वामपन्थी मौलाना भासानीजस्ता पाकिस्तान समर्थक नेतालाई एकताबद्ध बनायो र १४ नोभेम्बर, १९५३ मा जुक्ता मोर्चा (संयुक्त मोर्चा) गठन भयो । १० मार्च १९५४ मा पूर्वी पाकिस्तानको विधान सभा चुनावमा संयुक्त मोर्चाले दुई सय ३७ मध्ये दुई सय २३ सिट जित्यो, जहाँ अवामी मुस्लिम लिगले एक सय ४३ सिट जित्यो । यो अवामी मुस्लिम लिगको पहिलो ठूलो चुनावी जित थियो । हुनेवाला बंगलादेशको भावी सत्तारूढ पार्टी अवामी लिग जो हालै रोजगारी आरक्षणविरुद्ध विद्यार्थी आन्दोलनलाई दमन गरेर चर्चामा छ । सो पार्टी सन् १९४७ मा धेरै प्रमुख राजनीतिक संरचनाभन्दा भिन्न थियो, अर्थात् मूलधारको भारतीय राष्ट्रवादी वा पाकिस्तान समर्थक पार्टी थिएन ।

दुई सयभन्दा बढीको मृत्यु भएको हालैका प्रदर्शनले अवामी लिगसामु गम्भीर चुनौती खडा गरेको देखिन्छ

अवामी मुस्लिम लिगको उदय तब भयो जब बंगालका प्रमुख नेता कि पाकिस्तान समर्थक भावनासँग जोडिएका थिए वा सीमान्तीकृत भएका थिए । विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीका नेता इकबाल हसन महमुद टुकुका अनुसार ढाका र कलकत्ताका विश्वविद्यालय क्याम्पसबाट सुरु भएको यो पार्टी पाकिस्तानको असफलताको अनुमान गर्ने विद्यार्थीले निर्माण गरेका हुन् । मौलाना भासानीको नेतृत्वमा वामपन्थी विद्यार्थी आन्दोलनको समर्थकका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका टुकुका अनुसार अवामी लिग एक विरोध आन्दोलनका रूपमा सुरु भएको थियो र पाकिस्तानमा १९७० को राष्ट्रिय चुनावमा सत्ताको नजिक आउनुअघि धेरै वर्षसम्म विरोधी राजनीतिक शक्ति बनिरह्यो ।

धर्मनिरपेक्ष मञ्च :  आफ्नो स्थापनादेखि नै अवामी लिग धर्मनिरपेक्षताप्रति प्रतिबद्ध थियो । जहाँ पछि पार्टीले आफूलाई सांस्कृतिक रूपमा उन्मुख मुस्लिम लिगबाट अलग राखेको थियो । आफ्नो यो राजनीतिक परिवर्तनलाई संस्थागत गर्न पार्टीले २१ अक्टोबर १९५५ मा आफ्नो नामबाट ‘मुस्लिम’ शब्द हटायो । सन् १९५५ र १९६९ का बीच अवामी लिगलाई पूर्वी पाकिस्तानका विद्यार्थी कार्यकर्ता र पेसेवरले चलाएका थिए । ५ जनवरी १९६९ मा पूर्वी पाकिस्तानको स्वायत्तताको वकालत गर्न केन्द्रीय विद्यार्थी कार्य परिषद्को स्थापना पनि भयो । भोला चक्रवातपछि सन् १९६९ को चुनावमा अवामी लिगले पूर्वी पाकिस्तानमा एक सय ६९ राष्ट्रिय सभा सिटमध्ये एक सय ६७ र तीन सय प्रान्तीय विधान सभा सिटमध्ये दुई सय ८८ मा विजय हासिल गर्यो । 

पाकिस्तान पिपुल्स पार्टीका जुल्फिकार अली भुट्टो र सेख मुजिबुरबीच सरकार गठनलाई लिएर गतिरोध उत्पन्न भयो । नतिजा मुजिबको गिरफ्तारी र उनका समर्थकमाथि कडा दमन भयो । यो अशान्तिले शरणार्थी संकट निम्त्यायो र डिसेम्बर १९७१ मा भारत–पाकिस्तान युद्ध निम्त्यायो । पाकिस्तानी सेनाको पराजय र बंगलादेशको निर्माणले अवामी लिगको नयाँ युगको सुरुवात भयो । मुजिबुर ८ जनवरी १९७२ मा रिहा भए र ढाका फर्किए जहाँ अवामी लिगले पहिलोपटक सत्ता हासिल गर्यो । सन् १९७३ मा अवामी लिग, कम्युनिस्ट पार्टी र नेसनल अवामी पार्टीसँग गठबन्धनमा बंगलादेशको पहिलो प्रमुख चुनावमा तीन सय सिटमध्ये दुई सय ९३ सिट जित्यो ।

राजनीतिक असन्तुष्टि :  बंगलादेशमा संस्थापन बनेको अवामी लिगले बेरोजगारी, खाद्यान्न अभाव र राजनीतिक असहमतिजस्ता चुनौतीको सामना गर्यो । २५ जनवरी १९७३ मा सेख मुजिबले बंगलादेश कृषक श्रमिक अवामी लिग नामक एक दलीय प्रणाली स्थापना गरे । केही आर्थिक सुधार भए पनि राजनीतिक अस्थिरता बढ्यो । १५ अगस्ट १९७५ मा मुजिब र परिवारका १५ सदस्यलाई एक दुष्ट सैन्य एकाइले हत्या गर्यो । जनरल जियाउर रहमान र उनको बंगलादेश नेसनलिस्ट पार्टीले ३० मे १९८१ मा जियाको हत्या नभएसम्म र त्यसपछि जनरल हुसेन मोहम्मद एर्सादको नेतृत्वमा झन्डै एक दशकको सैन्य शासनका कारण अवामी लिगको सत्ता अस्थायी रूपमा रोकिएको थियो ।

अवामी लिग झन्डै दुई दशकसम्म सत्ताबाट बाहिर रह्यो तर, यसको राष्ट्रिय मुक्तिको आदर्श बलियो रह्यो । मुजिबकी छोरी सेख हसिना सन् १९८० को दशकको प्रारम्भमा बंगलादेश फर्किइन् र खालिदा जियासँग मिलेर सरकारविरोधी आन्दोलनमा जोडिइन् र अन्ततः सन् १९९० मा एर्साद शासनलाई अपदस्थ भयो । १९९१ मा विनाशकारी चक्रवातले जियाको सरकारको अपर्याप्तता प्रकट गर्यो । हसिनाले त्यसवेला सरकारविरोधी भावनाको प्रयोग गरेर सन् १९९६ मा चक्रवातपछि पहिलोपटक सत्तामा आइन् ।

सन् १९९० को प्रारम्भमा सेख हसिनाको ऊर्जाका कारण अवामी लिगको समर्थन आधार बढ्यो उनले पहिले जनरल एर्सादलाई पदच्यूत गरिन् र त्यसपछि जियालाई निर्वाचनमा माथ दिइन् । लगातार चार कार्यकालसहित आफ्नो पाँचौँ कार्यकालमा हसिनाले राज्यमाथि कडा पकड जमाएकी छिन् र विद्यार्थी नेताका नयाँ पुस्तालाई हुर्काएकी छिन् । हालैका प्रदर्शन, जहाँ दुई सयभन्दा बढीको मृत्यु भयो, त्यसले अवामी लिगसामु गम्भीर चुनौती प्रकट गरेको संकेत देखिन्छ । विगतका विरोधी प्रदर्शनका विपरीत यी विरोध परम्परावादी विरोधको सट्टा प्रगतिशील विद्यार्थी शक्तिद्वारा सञ्चालित देखिन्छन् ।

(भट्टाचार्जी द हिन्दूका वरिष्ठ उपसम्पादक हुन्) द हिन्दूबाट

सुझावित समाचार