सडक खन्ने क्रममा खसेको ढुंगाले लाग्दा बालिकाको मृत्यु

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा सडक काट्दै गरेको डोजरको ढुंगा लागेर एकजना बालिकाको मृत्यु भएको छ। गाउँपालिकामा निर्माण भइरहेको जोरु–गोठीगाउँ सडकखण्डबाट खसेको ढुंगा लागेर १४ वर्षीया बालिकाको मृत्यु भएको हो। 

सडक निर्माणस्थलबाट खसेको ढुंगा लागेर गोरु चराउँदै गरेकी सोही गाउँपालिका– १ की आकाशी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीपकुमार गिरीले बताए।

शनिबार दिउँसो जंगलमा गोरु चराउँदै गरेकी कुमालको डोजरले सडक खन्ने क्रममा खसेको ढुंगा लागेर मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धानका लागि डोजरचालक लालबहादुर रावतलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले भने घटनाबारे आफूलाई यकिन जानकारी नभए पनि सडकबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको सुनेको बताए। निर्माणाधीन सडकबाट ढुंगा खसेको र भागदौड गर्ने क्रममा ढुंगा लागेको सुनेको उनको भनाइ छ।

दिउँसो ढुंगाले लागेर गम्भीर घाइते भएकी कुमालको उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको कोल्टी अस्पतालले जनाएको छ।  उपचारमा संलग्न डाक्टर प्रतीक न्यौपानेले उपचारका क्रममा शनिबार राति बालिकाको मृत्यु भएको बताए।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि  कोल्टी स्वास्थ्य केन्द्रमा राखिएको छ।

सुझावित समाचार