दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता एक किशाेरीको शव फेला परेको छ। शुक्रबार राति तुलसीपुर– ४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएकी सुर्खेत घर भई तुलसीपुर- ४ खाद्रे बस्दै आएकी १६ वर्षीया मञ्जु खड्काको शव आइतबार बिहान साढे ८ बजेतिर भेटिएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बबई गाउँपालिका– ५ खयरभट्टीस्थित बबई नदीको किनार पानीमा तैरिएको अवस्थामा शव भेटिएको हो।
शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रे जाँदै गरेको रा.ह ६४०५५ नम्बरको अटोरिक्सालाई बगाउँदा उनीसहित दुईजना बेपत्ता भएका थिए। तीमध्ये बेपत्ता भएकी तुलसीपुर– ४ निवासी ५५ वर्षीया सीता आलेको शनिबार बिहान ८ बजेतिर ग्वारखोलामा शव भेटिएको थियो। मञ्जु सीताको नातिनी हुन्। सीता नातिनीलाई लिन तुलसीपुर आएकी थिइन्।
मञ्जु सुर्खेतबाट तुलसीपुर पढ्न आएकी थिइन्। कक्षा ११ मा विज्ञान विषय पढ्न तुलसीपुरस्थित गोरखा माविमा भर्ना भएकी थिइन्। उनी तुलसीपुरमा ठूलाबुबाको घरमा बसेर पढ्दै थिइन्। तुलसीपुर– ४ खाद्रे उनको मामाघर हो।
पाँचजना सवार अटोमा चालक तुलसीपुर– ४ खाद्रनिवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीय सुशान्त आले भने सकुशल थिए।