‘उपचार नपाएर राष्ट्रिय धरोहरको निधन हुनु लज्जास्पद’

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले दुवै मिर्गाैला बिग्रिएर समयमै उपचार नपाई शास्त्रीय संगीतका हस्तीको निधन हुनु लज्जाको विषय भएको बताएका छन् । दिवंगत गुरुदेव कामतको घर पुगेर परिवारजनलाई शनिबार भेटेर उनले राष्ट्रले अमूल्य निधि गुमाएकोमा दुःख व्यक्त गरे ।

शास्त्रीय संगीतका धरोहर र राष्ट्रकै सम्पत्तिको रूपमा रहेका गुरुदेवजस्ता व्यक्तित्वले आर्थिक अभावमा उपचार नपाएर मृत्युवरण गर्नु लज्जाको विषय रहेको उल्लेख गर्दै उनले त्यसमा आफूहरू पनि दोषी रहेको स्विकार्दै क्षमायाचना गरे ।

‘हामी पनि जिम्मेवार ठाउँमा छौँ, पार्टी सरकारमा रहेकाले क्षमायाचना गर्दछु’ उनले भने, ‘उहाँ बिरामी हुनुहुन्थ्यो भन्ने कतैबाट पनि थाहा पाइनँ, निधन भएपछि मात्र समाचारमार्फत जानकारी पाएँ । त्यसमा अरूको कमजोरी नभएर हाम्रै पनि कमजोरी रह्यो ।’ 

कामतको गृहनगर लक्ष्मीपुरपतारी गाउँपालिकाले आइतबार पालिका क्षेत्रमा शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले शुक्रबार शोक बिदासम्बन्धी सूचना जारी गर्दै गाउँपालिका र मातहतका सम्पूर्ण कार्यालयहरूमा आइतबार शोक मनाउन बिदा दिइएको उल्लेख छ । 

सुझावित समाचार