बिच भलिबलमा नेपालको महिला टिम च्याम्पियन

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला बिच भलिबल टिमले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार सम्पन्न फाइनलमा नेपालले उज्वेकिस्तान ‘ए’लाई २–० को सोझो सेटमा पराजित गर्यो । कमला पुन र मनीषा चौधरीको जोडी २१–१७ र २१–१४ ले विजयी भयो ।

प्रतियोगितामा अपराजित नेपालले सेमिफाइनलमा उज्वेकिस्तानकै ‘बी’ टोलीलाई २–० को सोझो सेटमा हराएको थियो । त्यसअघि नेपालले उज्वेकिस्तान, आयोजक भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।

हाल कोपिला भने प्रशिक्षणकोलागि नेदरल्यान्ड जाने भएपछि मनिषाले अवसर पाएकी हुन् । दुबै खेलाडी घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्ने गर्छन् ।

पुरुष टिम उपविजेता
च्याम्पियनसिपमा नेपाल पुरुषतर्फ फाइनलमा पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार नेपाल माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भयो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले खेल १९–२१, १७–२१ ले गुमायो ।

यो जोडी बंगलादेशमा सम्पन्न गत संस्करणको प्रतियोगितामा पनि उपविजेता बनेको थियो । दुबै टोली घरेलु प्रतियोगितामा त्रिभुवन आर्मी क्लबाट खेल्दै आएका छन् । नेपालको महिला तथा पुरुष टोलीको प्रशिक्षक रुपेश विष्ट थिए । 

सुझावित समाचार