५० वर्षीय वडाध्यक्ष खनालले गरे १२ पास

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन्। शुक्रबार प्रकाशित परीक्षाअनुसार खनालले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेका हुन्।

५० वर्षीय खनालले गत वर्ष ११ र यस वर्ष १२ को परीक्षा दिएका थिए। अघिल्लो वर्ष उनले ११ पास गरेका थिए। आफ्नै वडामा रहेको बालजीवन ज्योति माविको व्यवस्थापन समिति अध्यक्षसमेत रहेका खनाल सोही विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए।

एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाइलाई विश्राम दिएका खनालले विद्यालयको पढाइ सुधार्ने अभियानका साथै अधुरो पढाइ पूरा गर्न उनी आफैँ ११ कक्षामा भर्ना भएका थिए। ‘पढ्ने रहर हुँदाहुँदै पढ्न सकेको थिइनँ। उसवेलाको रहर अहिले आएर पूरा गरेको हुँ। अब कसैले पढाइबारे सोध्दा प्लस टु पास गरेको छु भन्न सक्ने भएको छु,’ वडाध्यक्ष खनालले खुसी व्यक्त गर्दै भने।

खनालका दुईवटै छोराले स्नातक तहसम्मको पढाइ पूरा गरिसकेका छन् । उच्च शिक्षा अध्ययनको विषयमा भने निर्णय नगरेको बताउँदै खनालले परिवार र साथीभाइको सरसल्लाहपछि निर्णय गर्ने बताए। खनाल मनहरीको १ नम्बर वडामा दोस्रो कार्यकालका लागि निर्वाचित वडाध्यक्ष हुन्। 

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले वडाध्यक्ष खनालको नतिजाले अरूलाई पनि हौसला मिल्ने प्रतिक्रिया दिँदै मनहरीको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई अध्यक्ष खनालले गरेको १२ पासले पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

सुझावित समाचार