किताब जात्राको छैटौँ संस्करण सुरु

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

किताब जात्राको छैटौँ संस्करण आजबाट सुरु भएको छ। दुई दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन्।

आर्मी अफिसर्स क्लब सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरूबारे छलफल हुने आयोजकले जनाएको छ।

महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरू अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग  ‘सिर्जनामा सामाजिक चेतना : हिजो र आज’ नामको छलफल हुँदै छ।

त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दीपेन्द्र गौचन, प्रदीप भट्टराई र ऋचा शर्मासँग ‘सिनेमा मन्थन : नेपाली सिनेमाको सपना’ शीर्षकमा छलफल हुने आयोजकको भनाइ छ।

विप्लप प्रतीकको साथमा कविता साँझको पनि आयोजना हुँदै छ। त्यस्तै ओपन माइक सेसनअन्तर्गत महोत्सवमा सहभागीहरूले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन्।

महोत्सवको दोस्रो तथा अन्तिम दिन ‘स्टाटिङ अप विथ स्टार्टअप्स’ शीर्षकको प्यानल डिस्कसन हुनेछ। त्यस्तै, नेपाली साहित्यमा समिक्षकको उपस्थिति, मूलधारबाट सधैँ उपेक्षामा कला, हास्य विधा : शक्ति र चुनौती, सञ्चारका सारथिलगायतका विषयमा छलफल हुनेछ।

दर्जनभन्दा बढी किताबका स्टलसँगै कलाका अन्य स्टलहरूले महोत्सवलाई आकर्षक बनाएको छ ।

सुझावित समाचार