एक करोडभन्दा बढी बजेटका कार्यक्रममा एक सय ५६ पटक रकमान्तर गरी खर्च
सरकारले गत आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा गरेको वाचा तोडेको छ । अर्थ मन्त्रालयका अनुसार असारमा १९ अर्ब १२ करोड ८२ लाख रुपैयाँ रकमान्तर भएको छ । जसमा ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपैयाँ एउटा बजेट उपशीर्षकबाट अर्काे बजेट उपशीर्षकमा रकमान्तर भएको छ ।
यो एक करोड रुपैयाँभन्दा बढीको बजेट भएको कार्यक्रमहरूबीच भएको रकमान्तरको तथ्यांक हो । यसबाहेक विनियोजन भएको पैसाले नपुगेर तथा नयाँ कार्यक्रम थपिएर सात अर्ब ७५ करोड ५१ लाख ३३ हजार रुपैयाँको थप निकासा गरी रकमान्तर गरिएको छ ।
आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा सरकारले असोज मसान्तसम्म र असार महिनामा रकमान्तर र कार्यक्रम संशोधन नगर्ने वाचा गरेको थियो । तर, आफ्नै वाचा तोडेर असारमा रकमान्तर गरेको हो । एक करोडभन्दा बढी रकमका कार्यक्रमहरूको बजेट एक सय ५६ पटक रकमान्तर गरी खर्च गरिएको छ ।
प्रत्येक वर्ष ठूलो आकारको बजेट ल्याउने र रकमान्तर गर्नुपर्ने कारणले बजेट निर्माण पद्धतिमाथिको विश्वसनीयता गुम्दै जाने जोखिम रहेको अर्थशास्त्री प्रा.डा. पुष्करराज बज्राचार्यको टिप्पणी छ । उनले भने, ‘आकस्मिक प्रयोजनका लागि रकमान्तर ठीक हो । तर, यसले बजेट अनुशासन कायम राख्न नसकिने भयो । यथार्थपरक बजेट निर्माण भएन । यो गम्भीर चुनौती हो । बजेट निर्माण गर्ने क्षमता पुगेन ।’
बजेट वक्तव्यमा रकमान्तर नगर्ने वाचा गरेर अन्तिममा पछि हट्दा त झन् सरकारप्रतिको विश्वसनीयता गुम्दै गएको उनले बताए । उनले भने, ‘बजेट निर्माणको प्रक्रियामै समस्या देखिएको छ । बजेटलाई कसरी यथार्थपरक बनाउने भन्ने विषयमा अध्ययन गर्नुपर्छ ।’
आर्थिक वर्षको बीचमा विनियोजन भएको रकमले नपुग भई वा नयाँ कार्यक्रम समावेश गर्न थप रकमको आवश्यकता भएमा अर्थ मन्त्रालयमा स्वीकृति लिई थप रकम लिन सकिने व्यवस्था छ । थप रकमका लागि सम्बन्धित मन्त्रालयको सचिवस्तरबाट निर्णय गराएर अर्थ मन्त्रालयमा अनुरोध गर्नुपर्ने हुन्छ । असारमा यस्ता कार्यक्रमका लागि सात अर्ब ७५ करोड थप निकासा दिई खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
असारमा संघीय सांसद र संसद्का कर्मचारीलाई पाँच करोड ९७ लाख ६४ हजार रुपैयाँ थप बजेट रकमान्तर गरी निकासा भएको छ । संघीय संसद्को सदन तथा समितिको बैठक भत्ता र परिवहन भत्ताका लागि संघीय संसद् सचिवालय, काठमाडौंलाई दुई करोड ५० लाख रुपैयाँ थप निकासा दिइएको छ । संघीय संसद् सचिवालयका कर्मचारीका लागि बिहान–बेलुका अतिरिक्त काम गरेबापत खाजा–खाना भत्ताका लागि तीन करोड ४७ लाख ६४ हजार रुपैयाँ रकमान्तर गरी निकासा भएको मन्त्रालयले जानकारी दिएको छ ।
न्यायाधीशका लागि सवारीसाधन खरिद गर्न सर्वाेच्च अदालतलाई २१ करोड ९६ लाख ९३ हजार रुपैयाँ थप बजेट निकासा गरिएको छ । गाडीबाहेक अदालतलाई २० करोड ९९ लाख थप बजेट रकमान्तर गरी निकासा भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको औपचारिक भ्रमणमा भएको खर्च भुक्तानी गर्न परराष्ट्र मन्त्रालयलाई थप एक करोड १७ लाख ५१ हजार रकमान्तर गरी निकासा गरिएको छ । त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणमा दुई करोड ४३ लाख रुपैयाँ खर्च भएको छ ।
नेपाली सेनाले खाद्यान्न अपुग भएको भन्दै रकमान्तर गरी ४० करोड ८६ लाख रुपैयाँ थप बजेट लगेको छ । त्यस्तै, असारमा २३ करोड ७९ लाख रुपैयाँबराबरको आर्थिक सहायता पनि दिइएको छ ।
मन्त्रालयअनुसार जेठ महिनामा तीन अर्ब २८ करोडको थप बजेट निकासा गरिएको छ भने एक करोडभन्दा बढीका कार्यक्रममा दुई अर्ब ५९ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।