शास्त्रीय गायक तथा संगीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ । पुख्र्यौली गाउँ सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– २ पोखरभिन्डास्थित निवासमा बिहीबार बिहान ८ बजेतिर उनले अन्तिम श्वास लिए । उनको बिहीबार दिउँसो स्थानीय सरस्वती खोलामा दाहसंस्कार गरियो । बाबुको उपचार खर्च धान्न नसकेपछि गत चैतमा कतार गएका जेठो छोरा धर्मेन्द्र बिहीबार दिउँसो गाउँ फर्किएपछि दाहसंस्कार गरिएको हो ।
शास्त्रीय गायन तथा संगीतमा निकै उच्च श्रद्धासहित लिइने कामत उपचारका लागि आर्थिक संकट भएपछि गत २९ असारमा पुख्र्यौली जन्मथलो पोखरभिन्डा फर्किएका थिए । दुवै मिर्गौला बिग्रिएको यकिन भएपछि काठमाडौंमा डायलाइसिस थालिएसँगै उपचारमा परिवारजनले करिब १० लाख रुपैयाँ खर्चिएका थिए । उपचार खर्च महँगो र परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि पोखरभिन्डा गाउँ फर्किनुअघि गत २८ असारमा उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि गाउँ जाँदै छु, काठमाडौंमा बसेर इलाज गराउन सक्दिनँ, उतै लहानमा डायलाइसिस गराउँछु । यहाँ शारीरिक, मानसिक र आर्थिक अवस्था एकदम कमजोर भएर भोलि जाँदै छु । अब मिर्गाैला प्रत्यारोपणका वेला आउँछु ।’ तर मिर्गौला प्रत्यारोपण गर्न नपाई उनी आफ्नै गाउँमा सदाका लागि अस्ताए ।
१७ साउन ०१२ मा पोखरभिन्डामा जन्मेका कामत पढाइ छाडेर करिब १२–१३ वर्षको उमेरमा भारततिर गएको नातामा भान्जा पर्ने महेश कामतले बताए । भारतमा रहँदा ठुल्ठूला आर्केस्ट्रामा गीत गाउन थालेसँगै संगीततर्फ झुकाव बढेपछि उत्तर प्रदेशको इलाहावाद र पश्चिम बंगालबाट शास्त्रीय संगीत सिकेर ०५० तिर नेपाल फर्किएका थिए । ‘नेपाल फर्किएपछि त्यही वर्ष रेडियो नेपालले आयोजना गरेको प्रतियोगितामा शास्त्रीयतर्फ प्रथम र आधुनिक गायनतर्फ दोस्रो हुनुभयो,’ महेशले भने, ‘त्यसपछि संगीतको क्षेत्रमा चिनिन थाल्नुभएका उहाँले रेडियो नेपालमा पनि गाउने र निजी शिक्षालयमा शास्त्रीय संगीत पनि सिकाउनु थाल्नुभयो ।’ गुरुकुलमा उनले हजारौं विद्यार्थीलाई संगीगत सिकाएको गायक संगीतकार शम्भु राईले बताए ।
कामतले ०६१ देखि काठमाडौंको चारखाल डिल्लीबजारमा ‘गुरुकुल संगीत पाठशाला’ सञ्चालन गर्दै आएका थिए । मधुमेह र उच्च रक्तचापका कारण करिब एक वर्षअघि दुवै मिर्गौला बिग्रिएपछि गत १० असारमा ललितपुरको बी एन्ड बी अस्पतालमा पहिलो डायलाइसिस गरेका उनको गाउँ फर्किनुअघि एक दिन बिराएर गाउँ फर्किएपछि हप्ताको एकपटक डायलाइसिस हुँदै आएको माहिलो छोरा प्रमेन्द्र कामतले बताए । लहानस्थित ॐ साई अस्पतालमा डायलाइसिस गराउँदै आएका उनको बिहीबार बिहान पनि डायलाइसिसका लागि लहान ल्याउन तयारी गर्दागर्दै निधन भएको थियो ।
पारिश्रमिकसमेत दिएन मधेश प्रज्ञा प्रतिष्ठानले
स्वास्थ्य अवस्था नाजुक हुँदाहुँदै मधेश प्रज्ञा प्रतिष्ठानले आफूलाई गत माघमा चार घण्टा स्टेज कार्यक्रममा प्रस्तुति दिन लगाएर पारिश्रमिकसमेत नदिएको भन्दै गुनासो कामतले गरेका थिए । सांगीतिक कार्यक्रम गराएर पारिश्रमिकबापत एक लाख रुपैयाँ दिन्छु भने पनि नदिएको उनको भनाइ थियो । ‘प्रतिष्ठानले नै दिएको प्लेनको टिकटमा काठमाडौंबाट एकजना तबलावादक लिएर जनकपुर गएँ । स्वास्थ्य अवस्था कमजोर भए पनि लगातार चार घण्टा कार्यक्रम गरेँ,’ उनले भनेका थिए, ‘फर्किने वेलामा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले सरकारी काम भएकाले रकम निकासा भएको छैन, एक साताभित्र तपाईंको खातामा पठाइदिन्छु वा म आफैँ ल्याइदिन्छु भनेका थिए, तर दिएनन् ।’ प्रतिष्ठानले गत ३० वैशाखमा लहानमा आयोजना गरेको कार्यक्रममा कापडीले कामतको उपचारका लागि एक लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । तर निधन हुनुअघिसम्म नदिएको लहानका साहित्यकार अर्जुनप्रसाद गुप्ताले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुरुदेव कामतको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘उहाँको निधनबाट नेपाली शास्त्रीय संगीतको एउटा प्रतिष्ठित व्यक्तित्व गुमाएका छौँ,’ पाण्डेले जारी गरेको शोक सन्देशमा भनिएको छ ।
कामतलाई स्मरण गर्दै कसले के भने ?
रामकृष्ण ढकाल, गायक : नेपाली शास्त्रीय र सुगम संगीतका लागि यो निकै विडम्बनापूर्ण दिन हो । संगीत कर्ममा लगावका साथ लाग्नुभयो, व्यक्तित्व पनि सालीन थियो । तर, नेपालको विडम्बना भन्नुपर्छ, यहाँ कलाकार बिरामी हुँदा राज्यको उपस्थिति कहिल्यै देखिँदैन । यसअघि पनि उपचार खर्चकै अभावले मूर्धन्य व्यक्तित्व बित्नुभएको थियो । यो विडम्बना हो ।
शम्भु राई, गायक : ०४१ देखि नै गुरुदेव कामतजीसँग चिनजान थियो । रेडियो नेपालमा सँगै काम गर्यौँ । म स्टेजमा केन्द्रित भएँ । उहाँले हजारौँ चेला जन्माउनुभयो । शास्त्रीय र आधुनिक गायनमा अब्बल व्यक्तित्व आज उपचार नपाएर बित्नुभयो । निकै दुःख लागेको छ । यो देशमा एउटा कलाकारको शरीरलाई खरानी बनाउन दाउरा किन्ने अवस्था पनि हुँदैन ।
अर्जुन पोखरेल, संगीतकार : मेरो सुरुवातको संगीत शिक्षक गुरुदेव सर नै हो । एउटा राम्रो गायक बन्नका लागि गला तिखार्न चाहिने चिज उहाँसँग थिए । राम्रो गायक बन्ने सपना भएका मेरो पुस्ताका लगभग सबै मानिसलाई गुरुदेव सरसँग एक न एकपटक क्लास लिने इच्छा हुन्थ्यो । ध्रुपद,धमार र ठुमरी गायनमा उहाँको विशेष दख्खल र लगाव थियो ।
रवि प्राञ्जल, गजलकार : गुरुदेव कामतका कार्यक्रम नछुटाई सुन्न जान्थेँ । उहाँको दुःखद निधन भयो । न सरकारले केही गर्यो, न कसैले केही गर्नसक्यो । ठुमरीमा उहाँजति राम्रो अरू देखिएकै छैन । उहाँले धेरै विद्यार्थी तयार गर्नुभएको थियो ।
धीरेन्द्र प्रेमर्षि, कलाकार : गुरुदेव कामत नेपाल फर्किएपछि शास्त्रीय संगीतले थप उचाइ लियो । केही आधुनिक नेपाली गीतमा स्वर दिए पनि मूलतः उनलाई शास्त्रीय संगीत र मैथिली गीत–संगीतले थप उचाइ दिलाएको हो । गुरुकुल संगीत पाठशालामा कामतसँग शास्त्रीय संगीत सिकेर लोचन भट्टराई, रमना श्रेष्ठ, अञ्जु पन्त, मनोज सेवा, बाला भट्टराई, शर्मिला बर्देवा, बबिना भट्टराईलगायतले गायनको क्षेत्रमा बेग्लै पहिचान बनाएका छन् ।