भरतपुरको विजयनगरमा सानो आकारको पुस्तकालय स्थापना

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

भरतपुर महानगरपालिका वडा नम्बर– १६ विजयनगरस्थित विजयटोलमा सडकछेउमा सानो आकारको पुस्तकालय सञ्चालनमा आएको छ। बिहीबार बिहान भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले पुस्तकालय उद्घाटन गरेका हुन्।

जय नेपाल इन्टरनेसनल फाउन्डेसनले ‘टोलटोलमा पुस्तकालय’लाई अभियानको रूपमा लैजाने योजनाअनुरूप भरतपुरबाट पुस्तकालय बनाउने अभियान सुरु गरेको हो। फाउन्डेसनबाट टोलटोलमा पुस्तकालय अभियानको संयोजकको जिम्मेवारी पाएका सुभास घिमिरेले आफ्नै थातथलोबाट पुस्तकालय सुरु गरेका हुन्।

लामो समयदेखि अमेरिकामा बस्दै आएका घिमिरेले त्यहाँको बाल्टिमोर सहरमा यो किसिमको पुस्तकालय देखेपछि नेपालमा आएर यस्तै पुस्तकालय बनाउने सपना बुनेका थिए। आफ्नो योजनालाई साथीहरूमाझ राख्ने क्रममा जय नेपाल इन्टरनेसनल फाउन्डेसनले टोलटोलमा पुस्तकालयलाई अभियानका रूपमा अगाडि बढाउन अनुरोध गर्दै आफूलाई जिम्मेवारी दिएको घिमिरेले सुनाए।

विजयनगरस्थित दुर्गा शेषकान्त माध्यमिक विद्यालयको मूलगेटअगाडि बाटो छेउमा फलामको पिल्लरमा छानोसहितको सानो घर बनाएर उक्त घरमा किताब राखिएको छ। करिब २० हजार रुपैयाँ लगानीमा बनेको यो पुस्तकालयमा अहिले करिब २० वटा किताब राखिएको छ। करिब ३०० वटा किताब अट्ने क्षमता रहेको यसमा आवश्यकताअनुसार किताब थप्दै जाने योजना रहेको संयोजक घिमिरेले बताए।

कार्यक्रममा अतिथिका रूपमा उपस्थित उदय अधिकारीले गाउँमा पुस्तकालय खोल्नु नै महत्त्वपूर्ण भएको बताए। वडावासी सबैलाई यो पुस्तकालयको प्रयोग र संरक्षण गर्न अधिकारीले सुझाव दिए। ‘खुला राखिएको यो बाकसमा सबैको बराबर पहुँच हुने र पढ्नलाई कसैले नछेक्ने भएकोले यो आफैँमा प्रशंसनीय काम हो,’ अधिकारीले भने।

नेपाल किसान संघ बागमती प्रदेश सदस्य एवं स्थानीय शोभा भुसालले आफ्नो गाउँमा पुस्तकालय खुलेकोमा खुसी व्यक्त गरिन्। ‘म पनि अब यहीँबाट नियमित रूपमा पढ्छु र अरूलाई पनि किताब पढ्न प्रेरित गर्नेछु,’ उनले भनिन्।

यो पुस्तकालय विद्यालयअगाडि भएकाले विशेष गरी विद्यार्थीहरू लाभान्वित हुने वडाध्यक्ष हमालले अपेक्षा गरेका छन्। ‘विद्यालयअगाडि पुस्तकालय छ। विद्यार्थीहरूलाई खाली समयमा यसको प्रयोग गर्न सिकाइनेछ। वडाले यसको संरक्षणमा ध्यान दिनेछ। वडावासीलाई पनि उपयोगी हुने खालका नयाँ पुराना सबै खालका किताब यहाँ उपलब्ध गराउन पहल गर्नेछु,’ हमालले भने।

किताब पढ्न इच्छुक जो-कसैले पनि ती किताब घरमै लगेर पढ्न पाउनेछन्। पढिसकेका किताब पुनः यहीँ ल्याएर राख्न सकिन्छ भने थप किताब सहयोग गर्न पनि सकिन्छ। ‘आफूले पनि पढौँ, अरूलाई पनि पढाऔँ र पठन संस्कारको विकास गरौँ’ भन्ने उद्देश्य राखेर टोलटोलमा पुस्तकालय अभियान थालिएको संयोजक घिमिरेले बताए। उनका अनुसार यो अभियानअन्तर्गत भरतपुर र यहाँका अन्य ठाउँ सँगसँगै नेपालका विभिन्न भागमा पुस्तकालय बनाउने योजना छ।

बक्समा सिसाको ढोका छ। भित्र के-के किताब छन् बाहिरबाटै देखिन्छ। बक्समा एउटा सूचना टाँसिएको छ। जसमा लेखिएको छ, ‘सानो निःशुल्क पुस्तकालय। एउटा किताब लिनुहोस्, एउटा छोड्नुहोस्। तपाईं कुनै किताब नछोडी लिन पनि सक्नुहुन्छ, तपाईं कुनै किताब नलिई छोड्न पनि सक्नुहुन्छ।’

सुझावित समाचार