वालिङ– १ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बिउ उत्पादन थालेको छ । ०४१ मा रेसमखेती गर्ने उद्देश्यले स्थापना भएको रेसम विकास कार्यालयको नाम र काम परिवर्तन भएसँगै किम्बु बगैँचा फाँडेर अन्नको बिउ उत्पादन थालिएको हो । ०४२ सालमा ३५ रोपनी क्षेत्रफलमा किम्बु बगैँचा लगाएर रेसमखेती हुँदै आएको थियो । गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास स्रोत केन्द्रका रूपमा स्थापना भएको केन्द्रले आलु, मकै र धानको बिउ उत्पादन गर्दै आएको छ ।
उक्त कार्यालयका प्रमुख सुदीप रेग्मीका अनुसार २० रोपनीमा आलु, मकै र धानको मूल बिउ उत्पादन थालिएको छ । चिप्स बनाउन प्रयोग गरिने विभिन्न जातका आलुको परीक्षण उत्पादन भएको छ। यस वर्ष ‘मनकामना ३’ जातको मकै उत्पादन गरी प्रशोधनको तयारी छ। मकै उत्पादन गरेको स्थानमा ‘रामधान’को प्रजनन तथा मूलबिउ उत्पादन गर्ने उद्देश्यले धानखेती गरिएको छ। कार्यालयपरिसरमै धान, मकै, गहुँको विषादीको प्रयोग गरेर वा नगरीकन प्रशोधन गर्न सकिने उपकरण जडान गरिएको छ।
जडान भएका उपकरणबाट कार्यालयपरिसरमा उत्पादन भएका बिउ तथा जिल्लाका विभिन्न स्थानमा बिउ उत्पादनसँग सम्बन्धित समूह सहकारीले उत्पादन गरेका बिउको प्रशोधन र भण्डारण गर्न पनि सहज भएको प्रमुख रेग्मीले बताए ।कार्यालयले उत्पादन गरेको धान, मकै, आलुको मूलबिउ सरकारले तोकेको मूल्यमा बिक्री गरिने उनले जानकारी दिए ।