फोहोरलाई मोहर बनाउँदै नीलकण्ठ नगरपालिका

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

सदरमुकाम धादिङबेँसीको फोहोर व्यवस्थापन गरी नीलकण्ठ नगरपालिकाले कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । युएसएआइडी तयार नेपालको सहयोग र ब्लु वेस्ट टु भ्यालु कम्पनीको सहजीकरणमा मल उत्पादन गर्न सुरु गरेको हो । 

नीलकण्ठ नगरपालिका– ८ ससाह ज्यामिरेमा सुरु गरेको मल उत्पादन केन्द्र स्थापना गरी अहिले मल उत्पादन सुरु गरिएकोे नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए । तयार परियोजनाको सहयोगमा स्थापना गरिएको मल उत्पादन केन्द्र बुधबार एक कार्यक्रमबीच नीलकण्ठ नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

बजार क्षेत्रबाट निस्कने कुहिने फोहोरबाट मल उत्पादन गरिने र निश्चित मापदण्ड बनाएर बिक्री–वितरण गरी आम्दानीको स्राेत बढाउने लक्ष्य रहेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए । ‘स्वच्छ, सफा र हराभरासहित फोहोरलाई मोहर बनाउने अभियान हो । यो अभियानले ल्यान्डफिल्डसाइड क्षेत्रका प्रभावित र स्थानीय सरकार दुवै पक्षलाई फाइदा पुग्नेछ । वर्षौँदेखिको फोहोर व्यवस्थापनको समस्या पनि समाधान हुनेछ,’ उनले भने । 

कुहिने फोहोरलाई कम्पोस्ट मल बनाएर व्यवस्थापन गर्ने कार्यको थालनी गरिए पनि नकुहिने र सिसाजन्य फोहोर व्यवस्थापनका लागि चुनौती रहेको नीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । ‘नगरपालिकाभित्रका फोहोर व्यवस्थापन वर्षाैँदेखि चुनौती बनिरहेको छ । सदरमुकाम आसपासका हामी जनप्रतिनिधिहरू पनि धेरैपटक छलफलमा बसेका छौँ,’ उनले भने, ‘अहिले फोहोर डम्पिङ गरिरहेको ठाउँको व्यवस्थापन गरी ल्यान्डफिल्डसाइडमा व्यवस्थित गर्ने उद्देश्यसहित नगरपालिका अघि बढेको छ ।’ 

नगरपालिकाभित्रका टोल सुधार समितिमार्फत नकुहिने फोहोरबाट हस्तकला सामग्री बनाउने तालिम र कुहिने–नकुहिने फोहोर छुट्याएर कुहिने फोहोरलाई कसरी मल बनाउने भन्ने तालिम र प्रविधि दिइसकेको छ । उत्पादन गरिएको कम्पोस्ट मल परीक्षणका लागि ल्याब पठाइएको छ । परीक्षणपछि निर्धारण भएको बजार दररेटमा ५० प्रतिशत छुटमा नगरपालिकावासीलाई मल बिक्री गरिने प्रवक्ता श्रेष्ठले बताए । 
 

सुझावित समाचार