नेतृत्वको लापरबाहीले निगमको आर्थिक अवस्था खस्कियो : छानबिन समिति

पाँच महिना न्यारोबडी ग्राउन्डेड हुँदा एक अर्बभन्दा बढी नोक्सानी

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

इन्जिन बिग्रिएर न्यारोबडी ९एन–एकेएक्स जहाज पाँच महिना ग्राउन्डेड हुँदा नेपाल वायुसेवा निगम (नेवानि)लाई एक अर्बभन्दा बढी नोक्सानी भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले न्यारोबडी जहाजको इन्जिन मर्मत गर्न इजरायल पठाएको र वाइडबडी जहाजको सि–चेक गर्न इटाली पठाएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

सो समितिले १ साउनमा बुझाएको प्रतिवेदनमा निगम नेतृत्वको लापरबाही र अक्षमताको कारण इन्जिन मर्मतमा ढिलासुस्ती भएर लामो समय जहाज ग्राउन्डेड हुँदा निगमले एक अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नुपरेको उल्लेख छ । 

बायाँ इन्जिनमा समस्या देखिएर १३ मंसिर ०८० मा ग्राउन्डेड भएको एकेएक्स जहाज इजरायलमा इन्जिन फेरेर १५ वैशाख ०८१ मा काठमाडौंमा अवतरण गरेको थियो । निगमले न्यारोबडी जहाजको लिजसहित इन्जिन मर्मतका लागि नियुक्त गरेको एमआरओ (मेन्टेनेन्स रिपेयर ओभरहल) कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)ले समयमा इन्जिन मर्मत नगरेको र भाडाको इन्जिनसमेत नदिएको कारण व्यस्त सिजनमै जहाज एक सय ५० दिनभन्दा बढी ग्राउन्डेड भएको थियो ।

छानबिन समितिको प्रतिवेदनमा भनिएको छ– ‘समयमा इन्जिन मर्मत नहुँदा भाडाको इन्जिन लिनुपर्ने बाध्यात्मक अवस्था तथा सम्झौताअनुसार भाडाको इन्जिनसमेत समयमै उपलब्ध नगराई लामो समयसम्म विमान भूमिस्थ रहन जाँदा करिब एक अर्बभन्दा बढी नाेक्सानी निगमले व्यहोर्नुपरेको हुन सक्ने अनुमान छ ।’ 

त्यसअघि ३१ असार ०८० मा एकेएक्स जहाजकै दायाँ इन्जिनमा समस्या आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो । त्यसपछि ११ असोजमा आइएआईको भाडाको इन्जिन जडान गरी नियमित उडानमा फर्किएको थियो । साढे दुई महिना ग्राउन्डेड भई भाडाको इन्जिन राखेर उडानमा फर्किएको दुई महिनामै फेरि अर्को बायाँ इन्जिनमा समस्या आएपछि ३१ मंसिरदेखि पुनः जहाज ग्राउन्डेड भएको थियो । 

ग्राउन्डेड जहाजको दायाँ पखेटामा आइएआईसँग भाडामा लिइएको इन्जिनको भाडा जहाज नउडे पनि दैनिक दुई हजार अमेरिकी डलरका दरले तिरेर राखियो । जहाज ग्राउन्डेड हुँदा टिकट बिक्रीबाट हुने नियमित आम्दानी र आइएआइएको इन्जिनलाई तिर्नुपर्ने भाडाका कारण निगमले ठूलो नोक्सानी व्यहोर्नुपरेको छानबिन समितिका एक सदस्यले बताए । उनले भने– ‘सम्झौताको चरणमा इञ्जिन बिग्रिने वित्तिकै भाडाको इञ्जिन उपलब्ध गराउने र ६५ दिनभित्र बिग्रिएको इन्जिन मर्मत गरिदिने सर्त राखिए पनि इजरायली कम्पनीले कार्यान्वयन गरेको देखिएन ।’

नेतृत्वमाथि भ्रष्टाचारको आशंका
छानबिन समितिले जहाज मर्मतका लागि निगम नेतृत्वले मिलेमतोमा एमआरओ कम्पनी छनोट गरेको र अनियमितता गरेको आंशका गरेको छ । इन्जिन मर्मत र भाडाको इन्जिनका लागि चयन भएको मर्मत–सम्भार संस्था आइएआईको क्षमतामाथि पनि समितिले प्रश्न उठाएको छ ।

सेप्टेम्बर २०२३ मा मर्मतका लागि लगेको इन्जिन हालसम्म पनि मर्मत हुन नसक्नु र मर्मतको टुंगो नलाग्नुलाई गम्भीर रूपमा लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । केवल कागजी प्रक्रिया मात्र पूरा गर्ने तर ठोस परिणाम नआउने यस परिस्थितिका लागि समग्रमा कार्यकारी प्रमुख युवराज अधिकारीलगायत सम्बन्धित विभागीय प्रमुखहरू जिम्मेवार देखिएको छानबिनमा भेटिएको छ । एकाउन्टेबल म्यानेजरसमेत रहेका निगमका कार्यकारी प्रमुखलाई एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसिआर) अन्तर्गत आफूले पालना गर्नुपर्ने दायित्वको समेत ज्ञान नभएको समितिको ठहर छ । सात वर्ष सञ्चालनमा आइसकेको जहाजमा आउन सक्ने समस्याको अनुमान गरी वैकल्पिक इन्जिनलगायतका योजना बनाउन निगम नेतृत्व चुकेको प्रतिवेदनमा उल्लेख छ । 

वाइडबडी इटाली लैजाँदा पनि बदनियत
छानबिन समितिले एयरबस ३३० (९एन–एएलवाई) जहाज दुबईबाट सि–चेकका लागि इटाली लैजाने क्रममा क्यानबाट नियमानुसार लिनुपर्ने उडान अनुमति नलिएको भन्दै निगम नेतृत्वप्रति प्रश्न खडा गरेको छ । क्यानबाट स्वीकृति प्राप्त नभएको इटलीस्थित एटिटेक एसपिएस कम्पनीमा वाइडबडी जहाज अलपत्र परेपछि पर्यटनमन्त्री र सचिवले नै हस्तक्षेप गर्नुपरेको थियो । सो वाइडबडी जहाज मर्मत सम्भार संस्था एटिटेक लैजानुअघि निगमको आर्थिक विनियमावली, २०६५ तथा सार्वजनिक खरिद ऐन, नियमका प्रावधान पूर्ण रूपमा पालना भएको छानबिनका क्रममा भेटिएन । कार्यकारी प्रमुख अधिकारीको कमजोरीका कारण निगमभित्र काम गर्ने वातावरण बिग्रिएको र दक्ष जनशक्तिसमेत छानबिन र अदालती कारबाहीमा परेको देखियो । बाँकी जनशक्ति पनि निगम छाडेर अन्यत्र जाने तरखरमा रहेको छानबिनका क्रममा भेटियो । यसले निगममा दक्ष जनशक्तिको अभाव देखिन थालेको छ । 

प्रतिवेदनमा भनिएको छ– ‘निगम नेतृत्वको बारम्बारको लापरबाहीले निगमको बजार हिस्सा खुम्चिँदै जाने, आर्थिक अवस्था खस्किँदै जाने, भएका दक्ष जनशक्ति पलायन हुँदै जाने स्थितिमा संस्था धराशायी हुन बेर नलाग्ने समितिको चासो सम्बन्धमा कार्यकारी प्रमुखले निगमको बजार हिस्सा सन्तोषजनक रहेको र वार्षिक आय पनि वृद्धि हुँदै गएको जिकिर गरेको । तर, आयभन्दा व्यय बढी भई हरेक वर्ष निगम घाटामा रहिआएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनबाट स्पष्ट भएको छ ।’

See More On

सुझावित समाचार