बुधबार एकै दिन २१ अर्ब ९१ करोड १५ लाखको कारोबार, २१ कम्पनीको सेयर मूल्य ९% भन्दा बढीले वृद्धि
सेयर कारोबारले ३५ महिना १७ दिनअघिको (३१ साउन ०७८ को) कीर्तिमानी तोडेको छ । सेयर बजार मापक नेप्से (नेपाल स्टक एक्सचेन्ज) परिसूचकसँगै बढ्दै गइरहेको सेयर कारोबारले बुधबार नयाँ कीर्तिमानी कायम राखेको हो । दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएयता सेयर बजारले निरन्तर उकालो यात्रा तय गरिरहेको छ ।
नेप्सेका अनुसार बुधबार २१ अर्ब ९१ करोड १५ लाख तीन हजार १६१ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक पनि ६४.२६ अंकले बढेर २७६०.९१ विन्दुमा पुगेको छ । सूचीकृत तीन सय ३२ कम्पनीको कुल पाँच करोड नौ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच भएको हो ।
३१ साउन ०७८ मा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको सेयर कारोबार भएको थियो । तर, त्यसबखत परिसूचक भने ३१५४.३४ विन्दुमा थियो । यसले कारोबार ‘अल टाइम हाई’ तहमा पुगे पनि परिसूचकले आफ्नो कीर्तिमानी तोड्न बाँकी रहेको देखिन्छ । २ भदौ ०७८ मा सेयर बजार परिसूचक ३१९८.१९ को अलटाइम हाई (कीर्तिमानी) विन्दुमा पुगेको थियो ।
बजारको पछिल्लो प्रवृत्तिअनुसार पालैपालो परिसूचकले कारोबार र कारोबारले परिसूचकलाई उचाल्दै जाने सम्भावना देखिएको सरोकारवालाको विश्लेषण छ । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाका अनुसार बुधबारको कीर्तिमानी कारोबारले केही दिनमै परिसूचक थप बढ्दै जाने संकेत दिएको छ ।
‘हामीले नियमित कारोबार नियाल्दा अहिले पुराना निष्क्रिय र सुस्त कारोबारी सक्रिय भएका छन् । नवप्रवेशी सेयर कारोबारीको आगमन हुनै बाँकी छ । त्यसैले बजारमा कारोबार र परिसूचकले पालैपालो एक–अर्कालाई धकेल्दै उचाल्ने सम्भावना बढेको छ,’ उनले भने ।
बुधबारको कीर्तिमानी कारोबारमा सबैभन्दा बढी कारोबार हिमालय रिइन्स्योरेन्सको छ । यो रिइन्स्योरेन्स कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ४१ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको ४० करोड २६ लाखको कारोबार भएको छ । नेपाल फाइनान्सको ३८ करोड ९४ लाख र अपी पावर कम्पनीको ३७ करोड ८२ लाखको कारोबार भएको छ ।
बजारको स्थायित्व के होला ?
विश्लेषकहरूले दुई ठूला राजनीतिक दलहरूबीचको गठबन्धनको सरकार र नेपाल राष्ट्र बैंकद्वारा जारी उदार मौद्रिक नीति नै सेयर बजार बढ्नुको प्रमुख कारण मानेका छन् ।
धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकले ढिलो गरी भए पनि मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने व्यवस्था गरेकाले सेयर बजारमा त्यसको प्रतिबिम्बन देखापरेको बताए । खासगरी बैंक तथा वित्तीय संस्थामा करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी थुप्रिएर बसेको अवस्थामा बजारमा कर्जा प्रवाह हुन सक्ने गरी केन्द्रीय बैंकले खुकुलो नीति लिएकाले लगानीकर्तामा विश्वास बढेको उनको बुझाइ छ ।
‘ठूला प्रमुख राजनीतिक दलहरू मिलेर सरकार गठन भएपछि पनि आर्थिक स्थायित्व कायम हुन्छ भन्ने विश्वास बढेको छ । केन्द्रीय बैंकले संस्थागत लगानीकर्ताले लिने बैंकको ऋणको सीमा हटाइदिएको छ । यसले पनि सेयर बजारलाई बढाउन बल पुगेको हो,’ उनले भने ।
सेयर बजारसँग बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदरको सम्बन्ध हुन्छ । पछिल्लो समय बैंकहरूको ब्याजदर घटिरहेकाले पनि सेयर बजारमा लगानी बढ्दै गएको डा. कार्कीको विश्लेषण छ । उनले भने, ‘ब्याजदर बढ्दा सेयर बजार घट्छ र ब्याजदर घट्दा सेयर बजार बढ्छ । यस्तो समयमा सेयर कारोबारीहरूले पनि मौका छोप्ने अवसर हो ।’
तर, नियामक निकायले लिने अस्थिर नीति र विवेकशील नहुँदाको परिणाम बजारमा अस्वाभाविक उतारचढाव देखिने गरेको उनको टिप्पणी छ । ‘अहिले अधिकांश लगानीकर्ता हल्लाको भरमा बजारमा छिरेका छन् । सेयर बजारमा अधिकतम २० प्रतिशत मात्रै वित्तीय साक्षर छन् । त्यसैले यस्तो बजारमा जोखिम रहन्छ । जहाँसम्म नियामकको विषय छ, गभर्नरज्यूको अन्तिम कार्यकाल भएकाले अन्तिमसम्म नबिगार्लान् भन्ने आशा राख्न सकिन्छ,’ उनले भने ।
केन्द्रीय बैंकले सेयर धितोको कर्जाको २० करोडको सीमा हटाइदिएर संस्थागत लगानीकर्तालाई आकर्षित गर्न खोजे पनि त्यसको लाभ सीमित व्यक्तिले मात्रै लिन सक्ने डा. कार्कीको भनाइ छ । ‘नेपालमा संस्थागत लगानीकर्ताको नाममा सीमित व्यक्तिका समूहले बजारमा चलखेल गर्दै आएका छन् । स्टक डिलर कम्पनीहरूलाई प्रभावकारी नबनाएसम्म संस्थागत लगानीकर्ता भित्र्याउन सम्भव हुने देखिन्न । संस्थागत लगानीकर्ताको उपस्थितिविना बजारलाई स्थायित्व दिन सकिँदैन,’ उनले भने ।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सापकोटाले राष्ट्र बैंकले उत्कृष्ट मौद्रिक नीति ल्याएकाले बजार स्थायित्वतर्फ अघि बढेको बताए । संस्थागत लगानीकर्ताको प्रवेशले अवाञ्छित क्रियाकलाप निरुत्साहित हुने उनको बुझाइ छ । उनले भने, ‘नेपाली सेयर बजार अब परिपक्व बन्ने बाटोमा अघि बढेको छ । तर, बजारले निश्चित उचाइ प्राप्त गरेपछि घट्नुपर्ने साधारण सिद्धान्त भएकाले लगानीकर्ताले बुझेर मात्रै लगानी गर्नुपर्ने हुन्छ ।’
कारोबारमा २४ असारदेखि भयो वृद्धि
नेप्से परिसूचकमा १७ असारदेखि वृद्धिको शृंखला सुरु भए पनि सेयर कारोबार उकालो लाग्न थालेको भने २४ असारदेखि हो । २४ असारमा चार अर्ब ५७ करोडको सेयर कारोबार भएकोमा २५ असारमा पाँच अर्ब ८ करोडको कारोबार भएको थियो । त्यसअघि निरन्तर बढिरहे पनि नेप्से परिसूचक २४ असारपछि नै २१०० विन्दुबाट अघि बढ्न थालेको हो । त्यसैले २४ असारपछि नै सेयर बजारमा परिसूचक र कारोबार सँगसँगै उकालो लागिरहेका छन् । असार मसान्तसम्म आइपुग्दा नेप्से परिसूचक २२४०.४१ विन्दुमा पुगेको थियो भने कारोबार आठ अर्ब ७३ करोड रुपैयाँ कायम भएको थियो ।
साउन लागेपछि परिसूचक २३०० विन्दुबाट निरन्तर उकालो लाग्न थाल्यो भने कारोबार पनि १० अर्ब नाघ्दै गयो । साउन लागेपछि नेप्से परिसूचक ५२०.४९ अंकले बढिसकेको छ । कारोबार पनि ३१ असारको भन्दा १३ अर्ब १८ करोड रुपैयाँले बढी देखिन्छ ।
२१ कम्पनीको सेयर मूल्यमा नौ प्रतिशतभन्दा बढीले वृद्धि
बुधबारको सेयर कारोबारमा २१ कम्पनीका सेयरधनीले उच्च लाभ लिएका छन् । यी कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरले बढेको छ । २१ मध्ये पनि आठ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गुर्खाज् फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र कुथेली बुखरी जलविद्युत् आयोजनाको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।
नेपाल वेयरहाउजिङ कम्पनी र प्रोग्रेसिभ फाइनान्सको सेयरभाउ ९.९९ प्रतिशतले बढेको छ । ओरियन्टल होटेल, समृद्धि फाइनान्स, मल्टीप्रपोज फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, पोखरा फाइनान्स, महालक्ष्मी विकास बैंक, बेस्ट फाइनान्स, नेपाल फाइनान्स, एचआइडिसिएल र सिँगटी हाइड्रो इनर्जीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरले बढेको छ ।
बजारमा १९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छन् ।