सोमबार रातिको भारी वर्षाका कारण १३ घण्टाभन्दा बढी समयदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ।
राजमार्गको महोत्तरी खण्डस्थित बर्दीबास नगरपालिका– ५ टुटेश्वर चोकनजिकै बेलगाछीमा रहेको ढुंग्रेखोलाको पुल क्षतिग्रस्त भई बाटो अवरुद्ध भएको थियो । १३ घण्टापछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो।
पुलको पूर्वपट्टि माटो कटान हुँदा पुलको पिल्लरमुनि खाल्टो परेपछि धराप भएको पुलका कारण आवतजावतमा रोक लगाइएको थियो । खाडल परेको ठाउँमा माटो भरेर सडक सञ्चालनमा ल्याइएको हो ।
सडक विभाग र बर्दीबास नगरपालिकाको सहयोगमा सडक खोलिएको ट्राफिक प्रहरी कार्यालय बर्दीबासका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए।