उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थ मन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिनुपर्ने कुराहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग उनले भने, ‘घरेलु तथा साना उद्योगको महत्त्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठूलो संख्या रोजगारीका रूपमा यो क्षेत्रमा आबद्ध रहेको छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के–कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ । ’
सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको उनले बताए । सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेसा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा रहेको उल्लेख गरे ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संवाहकका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरू विभिन्न कालखण्डमा विभिन्न समस्याहरूबाट प्रताडित हुँदै आएको बताउँदै पछिल्लो कालखण्डमा ०७२ को विनाशकारी भूकम्प, ०७६ देखि कोरोना महामारी आदिका कारण यस्ता उद्योगहरू धरापमा परेकोतर्फ ध्यानाकर्षण गराए ।
लघु, घरेलु तथा साना उद्योगहरूमा पर्ने यसको असरले समग्र देशको अर्थतन्त्रलाई नै प्रभाव पार्ने, रोजगारी सिर्जनामा गतिरोध उत्पन्न हुने, मुलुकको राजस्वमा कमी आउने तथा उद्यमी स्वयंलाई चाहिँ बैंकको ब्याज भुक्तानीमा प्रत्यक्ष असर पुर्याउने गरेको उनले बताए ।
अहिलेको मुख्य समस्या नै साना उद्योगीको ऋण भएकाले विगतमा सरकारले साना तथा महिला उद्यमीलाई लक्षित गरी ल्याइएको सहुलियतपूर्ण र पुनर्कर्जाको व्यवस्थालाई यथावत् कायम राख्न महासंघका अध्यक्ष सिंहले अनुरोध गरे ।