मध्यपुरथिमि नगरपालिका‐ ५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्नमै उनीहरू व्यस्त रहे ।
भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे। कसैले आफ्ना सामान जोगाए भने कैयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुरथिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।
रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न मात्र भएका छैनन् त्यहाँ लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।
सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्। हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ। सडकबाट भेल बगेपछि सडक मात्र बन्द भएका छैनन् यहाँका विद्यालयहरू बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबानमा परेका छन् ।
बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीयले ५० जनाभन्दा बढीको उद्धार गरेकाे आरएनए ग्रुपका संयोजक अरुण सैजूले जानकारी दिए । उनले रातिदेखि नै भक्तपुर अस्तव्यस्त भएको बताए ।