पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई तीन प्रश्न

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपतिे चुनावको लक्षण कस्तो छ ? 
अमेरिका आफ्नै अन्तरविरोधसँग जुधिरहेको छ । राष्ट्रपति जो बाइडेनलाई पुनर्निर्वाचनको प्रयास गर्न नियतिले रोकेपछि चार वर्षअघि दोस्रो पदावधिको चुनाव हारेका, अदालतमा ९१ फौजदारी मुद्दा झेलिरहेका ट्रम्प र  बहालवाला उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धी भएका छन् । न्युयोर्क टाइम्सको सर्वेक्षणअनुसार यी दुईबीच थोरै मतको फरक छ । संस्थागत रूपमा सुदृढ अमेरिकी प्रजातन्त्र दाउमा परेको मूल्यांकन भैरहेको यो चुनाव परिणामले विश्व प्रजातन्त्रको स्वास्थ्य र भूमण्डलीय शक्ति संरचनामा गम्भीर प्रभाव पार्नेछ । 

नेपालले यो चुनावलाई कसरी हेर्नुपर्ला ? 
नेपालको सामरिक चिन्तनका तीन पक्ष हुनुपर्छ– १. चुनाव परिणामले दुवै छिमेकीलाई थप्ने सामरिक उल्झन र त्यसबाट नेपालको सामरिक महत्व बढेर थपिने कूटनीतिक चुनौती । २. ट्रम्पको जित भएमा परम्परागत राजनीति, परराष्ट्र र सुरक्षा नीति, विशेष गरी रुस र चीनसँगको सम्बन्धमा हुने परिवर्तनले अमेरिका र भारतको रणनीतिक साझेदारीको आँच सेलाउनेछ । यसले भारतको परराष्ट्र र सुरक्षा सोचको स्वभाव र शैलीमा पार्ने दबाब र चीनसँगको सम्बन्धमा थप्ने दबाबको रापलाई सम्बोधन गर्न शिथिल कूटनीति र अन्तर्राष्ट्रिय रूपमा एक्लिएको नेपाल के सक्षम होला ? ३. नेपालमा बढ्दै गएको अमेरिकी सक्रियता ट्रम्पले जिते सेलाउने र कमलाले जिते अहिलेकै गतिमा कायम रहनेछ । दुवै सन्दर्भमा नेपालको कूटनीतिक र राजनीतिक नेतृत्वलाई अनपत्यार गर्न थालेका छिमेकीसँगको सम्बन्धमा जटिलता थपिनेछ  । 

नेपालले के गर्नुपर्ला त ?
बाह्य शक्तिबीचको सामरिक द्वन्द्व बढ्न थालेको वेलामा नेपालको परराष्ट्र नीतिले गुमाएको स्थायित्व र कूटनीतिक सिप छिटो आर्जन गर्नैपर्छ । भारत र चीनसम्बन्धी अमेरिकी रणनीतिको भविष्य, यसप्रति दिल्ली र बेइजिङको प्रतिकृयात्मक कदम तथा नेपालमा यी तीन शक्तिको चासो र क्रियाशीलता बुझ्नसक्ने, सम्बोधन गर्नसक्ने र सम्भावित विपत्ति रोक्नसक्ने राजनीतिक र कूटनीतिक नेतृत्व नेपालको सुरक्षित भविष्यका लागि आवश्यक छ । नेतृत्वमा सत्ताको अतृप्त तृष्णा, जनतामा घोर निराशा र दुवै छिमेकीको अनपत्यारले नेपालसँग सुध्रिने समय थोरै बाँकी छ । 

सुझावित समाचार