पानीपुरी र चटपटे खाँदा बाजुराको मार्तडीमा १५ जनाभन्दा बढी बिरामी

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

पानीपुरी र चटपटे बनाउन प्रयोग गरिने सबै सामान बरामद गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा ल्याब परीक्षणका लागि पठाइयाे

पानीपुरी र चटपटे खाँदा बाजुराको मार्तडीमा १५ जनाभन्दा बढी बिरामी परेका छन् । बडिमालिका नगरपालिका– ८ नापी कार्यालयनजिकै मीना खातुनले सञ्चालन गरेको पसलमा पानीपुरी र चटपटे खाएपछि एकैपटक १५ जनाभन्दा बढी बिरामी भएर जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् ।

सबैजसोमा वान्ता हुने, पखाला लाग्ने, पेट दुख्नेजस्ता लक्षण देखापरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । उनका अनुसार आइतबार पनि केही बिरामी यस्तै लक्षण भएका आउने गरेका थिए । सोमबार सोही लक्षण भएका बिरामी एकै साथ आएपछि कसैले पानीपुरी खाएको, कसैले चटपटे खाँदै गर्दा यस्तो लक्षण देखापरेको गिरीले बताए । 

सोमबार बिहान पानीपुरी र चटपटे खाएपछि आफूलाई रातभरि बान्ता र पखाला चलेको जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार गरिरहेकी सरिता थापाले बताइन् ।

आइतबार सोही पसलबाट छोरीले लिएर आएको चटपटे खाएपछि आमाछोरी नै बिरामी परेको जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचाररत अर्की बिरामी देवकी गिरीले बताइन् ।

पानीपुरी र चटपटे खाएर बिरामी परेको थाहा पाएलगत्तै जिल्ला प्रशासन कार्यालयले पसलबाट पानीपुरी र चटपटे बनाउन प्रयोग गरिने सबै सामान बरामद गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा ल्याब परीक्षणका लागि पठाएको छ ।

सुझावित समाचार