पेरिस ओलम्पिक २०२४ : जुडोकी मनिता पनि खराब प्रदर्शन गर्दै बाहिरिन्

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण
पेरिस ओलम्पिक २०२४ : जुडोकी मनिता पनि खराब प्रदर्शन गर्दै बाहिरिन्

५७ केजीमुनि तौल समूहमा सर्बियाली खेलाडी मरिकाविरुद्ध नेपालकी मनिता श्रेष्ठ (निलो) प्रतिस्पर्धा गर्दै । तस्बिर : लोकेन्द्र बस्नेत/राखेप

राउन्ड अफ ३२ मा नेपालकी मनिता श्रेष्ठ सर्बियाली खेलाडी मरिकासँग १ मिनेट २ सेकेन्डमै पराजित भइन् । उनी इप्पोनका आधारमा पहिलो चरणबाटै बाहिरिन्  

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान खराब प्रदर्शनका साथ ३३औँ ग्रीष्मकालीन पेरिस ओलम्पिक २०२४ प्रतियोगिताबाट बाहिरिएकी छिन् । फ्रान्सको च्याम्प डी मार्स एरिनामा सोमबार मनिताले आफ्नो पहिलो खेलमै महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । सर्बियाकी मरिका पेरिसिकले इलिमिनेसन राउन्ड अफ ३२ मा मनितालाई सहजै हराइन् । मनिता म्याटमा १ मिनेट ०२ सेकेन्डसम्म मात्र विपक्षी खेलाडीविरुद्ध टिक्न सकिन् । 

मनिता इप्पोनका आधारमा पराजित भइन् । कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी मनिता समग्रमा ओलम्पिक खेल्ने छैटौँ नेपाली जुडो खेलाडी हुन् । ओलम्पिक इतिहासमै पहिलोपटक रंगशाला बाहिर भएको पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा मनिताले स्यान्टु श्रेष्ठसँगै मार्चपासमा राष्ट्रिय झन्डा बोकेकी थिइन् । स्यान्टु पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुई खेलाडीसँगै पौडीकी डुवाना लामा र सुटिङकी सुस्मिता नेपाल पनि ओलम्पिकबाट बाहिरिए । ब्याडमिन्टनका प्रिन्स दाहाल पहिलो खेलमा पराजित भएका छन् । पौडीकै एलेक्जेन्डर शाह र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले खेल्न बाँकी छ । 

१२औँ र १३औँ सागकी रजत विजेता
१० वर्षको उमेरदेखि जुडो खेलेकी २५ वर्षीया मनिताले १२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेकी थिइन् । बन्दी सहायता नियोग (पाम)मा हुर्केकी मनिताले पामबाटै जुडो करिअर सुरु गरेकी थिइन् । उनका सुरुवाती प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् । श्रेष्ठले टोकियो ओलम्पिकमा सोनिया भट्टको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । मनिताले इन्डोनेसिया र चीनमा भएको एसियाली खेलकुदसँगै तीनवटा विश्व जुडो च्याम्पियनसिप खेलेको अनुभव छ । 

ओलम्पिक छात्रवृत्ति प्राप्त मनिताले पेरिस ओलम्पिकमा सहभागी हुनुअघि पेरिस ओलम्पिकलाई नै मध्यनजर गरी विभिन्न चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् । सन् २०११ मा त्रियोग कप जुडो प्रतियोगितामा ‘डेब्यु’ गरेकी मनिता सोमबार औपचारिक रुपमा ओलम्पियन बनिन् । त्रियोग जुडोमा मनिताले स्वर्ण जितेकी थिइन् ।

ओलम्पिक खेल्ने छैटौँ जुडो खेलाडी 
मनिता ओलम्पिक खेल्ने छैटोँ जुडो खेलाडी हुन् । जुडोबाट सन् १९८८ मा सोल ओलम्पिकमा पहिलोपटक गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले भाग लिएका थिए । त्यसपछि देबु थापाले सन् २००८ को बेइजिङ खेलेकी थिइन् । यसपटक पेरिस ओलम्पिकमा देबु मनिताकी प्रशिक्षकका रुपमा रहिन् । सन् २०१६ को रियो ओलम्पिकमा फुपू ल्हामु खत्री र सोनिया भट्टले सन् २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाएका थिए । 

ओलम्पिकको जुडोमा नेपालले अहिलेसम्म प्राप्त गरेको ठूलो सफलता फुपूले पूरा ४ मिनेट समय ‘म्याट’मा बिताउनु थियो । सन् २०२३ को युरोपियन जुडो च्याम्पियनसिपकी रजत विजेता २५ वर्षीया मरिकासँग टोकियो ओलम्पिक, विभिन्न ४ आइजेएफ विश्व जुडो च्याम्पियनसिप, विभिन्न १३ वल्र्ड टुरलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । मरिकाकी आमा रदमिला पनि जुडो खेलाडी हुन् ।

फ्लेप्सकै अगाडि रेकर्ड तोडे लियोनले 
फ्रान्सका लियोन मार्चान्डले पेरिस ओलम्पिकअन्तर्गत पौडीको चार सय मिटर व्यक्तिगत मिडलेमा रेकर्डसहित स्वर्ण जितेका छन् । स्वर्णसहित ओलम्पिकमा नयाँ कीर्तिमान बनाएसँगै घरेलु दर्शकले ठूलो खुसी मनाएका थिए । ओलम्पिक खेलमा कीर्तिमानी स्विमर अमेरिकी खेलाडी माइकल फ्लेप्सले सन् २००८ मा बेइजिङ ओलम्पिकमा राखेको रेकर्ड लियोनले तोडेका हुन् । उनले ४ मिनेट ०२.९५ सेकेन्डमा दूरी पूरा गरेका थिए । 

फ्लेप्सले १५ वर्षअघि यसै इभेन्टमा चार मिनेट ०३.८४ सेकेन्डमा पूरा गरेका थिए । यसपटक आफ्नो रेकर्ड तोडिँदा फ्लेप्स दर्शकदीर्घामा थिए । २२ वर्षीय लियोनलाई पछिल्लो समय विश्व पौडीमा फ्लेप्सको उत्तराधिकारीको रूपमा हेर्ने गरिएको छ । उनले सन् २०२३ मा जापानको फुकुओकामा भएको विश्व च्याम्पियनसिपमा आफैँले बनाएको विश्व कीर्तिमान ४ मिनेट ०२.५० सेकेन्डभन्दा कम छ । 

ब्राजिलविरुद्ध जापानको पुनरागमन जित 
पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा इन्जुरी समयसम्म पछि परेको जापानले ब्राजिलविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । पार्क डेस प्रिन्सेसमा जापानलाई जित दिलाउन साकी कुमागा र मोमोको तानिकावाले एक–एक गोल गरे । ब्राजिलका निम्ति जेनिफर डी सिल्भाले गोल गरिन् । खेलको ५६औँ मिनेटमा जेनिफरले ब्राजिललाई १–० ले अग्रता दिलाएकी थिइन् । खेलको इन्जुरी समयमा साकीले पेनाल्टीमार्फत गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याइन् । अन्तिम मिनेटमा मोमोकोले जापानलाई सनसनी २–१ रोमाञ्चक जित दिलाइन् । 

जितसँगै समूह ‘सी’मा दुई खेलबाट तीन अंक जोडेको जापान दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंककै ब्राजिल तेस्रो स्थानमा छ । पहिलो खेलमा जापान स्पेनसँग २–१ ले पराजित भएको थियो । ब्राजिलले नाइजेरियालाई १–० ले हराएको थियो । अर्को खेलमा स्पेनले नाइजेरियाविरुद्ध १–० को कठिन जित निकालेको थियो । महिलातर्फ क्यानाडाले फ्रान्सलाई २–१ र अमेरिकाले जर्मनीलाई ४–१ ले पराजित गरे ।

सुझावित समाचार