ऊर्जामन्त्री दीपक खड्काको कम्पनीले जग्गा लिजको बक्यौता नतिरेको विषय छानबिन गर्न माग

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

ऊर्जामन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटसँग लिज सम्झौता गरी लिएको जग्गा तथा भवनको ६ करोड ६९ लाख २७ हजार ८९१ रुपैयाँ बक्यौता नतिरेको विषय संसदमा उठेको छ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले सरकारकै मन्त्रीको कम्पनीले सरकारलाई बक्यौता नतिरी राज्य दोहन गरेको भन्दै आपत्ति जनाइन्। यस विषयमा नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गर्दै आइरहेको छ ।

नयाँ पत्रिकाकै समाचारको विषय उल्लेख गर्दै सांसद सुवेदीले भनिन्, ‘साउन १३ गतेको नयाँ पत्रिका दैनिकमा नेपाल स्काउटसँग लिज सम्झौता गरी लिएको जग्गा तथा भवनको ६ करोड  ६९ लाख २७ हजार ८९१ रुपैयाँ नतिरेपछि ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिविरुद्ध अदालतमा मुद्दा दायर भएको समाचार प्रकाशित भएको छ । यो समाचारको कहीँ कतैबाट खण्डन भएको मैले पाएको छैन । खण्डन नभएकोले यसको सत्यतामा शंका गर्नुपर्ने रहेन।’

वितगमा पूर्वगृहमन्त्री आबद्ध रहेको संस्थाले ऋण लिएको विषयमा संसदीय छानबिन भएको उल्लेख गर्दै उनले त्यसैगरी यो छानबिनको विषय हुनुपर्ने कि नपर्ने भन्दै सरकारलाई प्रश्न गरिन्।

सांसद सुवेदीले भनिन्, ‘सरकारकै मन्त्रीको कम्पनीले सरकारलाई तिनुपर्ने रकम नतिरी राज्य दोहन गर्ने कार्य खेदजनक छ। वितगमा पूर्वगृहमन्त्री आबद्ध रहेको संस्थाले ऋण लिएको विषयमा हामीले संसदीय छानबिन समिति बनायौँ । ठीक त्यसैगरी यो छानबिनको विषय हुनुपर्ने कि नपर्ने ? माननीय मन्त्रीले जवाफ दिनुपर्ने कि नपर्ने ? सरकार र सम्बन्धिन मन्त्रीको जवाफ चाहन्छु।’

सुझावित समाचार