इजरायल–हेजबुल्लाहको सम्भावित युद्ध कसरी रोक्ने ?

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

इजरायल र हेजबुल्लाहबीचको तनाव बढ्दै गएपछि मध्यपूर्वले क्षेत्रीय युद्धको गम्भीर जोखिमको सामना गरिरहेको छ । तीव्र अमेरिकी कूटनीतिक प्रयासका बाबजुद वासिङटनले स्थितिलाई चर्किन नदिन पर्याप्त काम गर्न सकेको छैन । द्वन्द्व रोक्न इजरायल, हेजबुल्लाह र तिनका बाह्य समर्थक समावेश भएको बृहत् सम्झौता तत्काल आवश्यक छ । 

कमजोर नेतन्याहु :  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्ध सम्हाल्न नसक्दा हेजबुल्लाह लडाकु र यसका सहयोगी बलियो बनेका छन् । हमासलाई ध्वस्त पार्ने र बन्धकको उद्धार गर्ने मुख्य उद्देश्य पूरा गर्नमा नेतन्याहुको असफलताले उनलाई अलग पारेको छ र उनको स्थितिलाई कमजोर बनाएको छ । गाजामा आक्रामक रणनीति, समाधान वा युद्धपछिको व्यवस्थापनका लागि स्पष्ट योजनाको अभावले उनको आफ्नै स्थिति र इजरायलको स्थिरता दुवैलाई खतरामा पारेको छ ।

अधिकांश इजरायली नेतान्याहुको राजीनामा चाहन्छन् । नेतान्याहु मन्त्रिपरिषद्का चरमपन्थी सदस्य र इजरायली रक्षाबल (आइडिएफ) नेतृत्वको सीमित समर्थनसाथ सत्तामा रहिरहन सफल छन् । उनलाई उग्र–पुरातनपन्थी समर्थकले पनि समर्थन गर्न छाडेका छन् । यो तप्काले सैन्य सेवालाई पनि अस्वीकार गरिरहेका छन् । त्यसमाथि इजरायलको लामो समयदेखिको सहयोगी वासिङटनबाट अविश्वास थपिएको छ । इजरायली जेनरल गाजामा गोला बारुदको अभाव र सेनाको थकाइलाई लिएर चिन्तित छन् र नेतन्याहूलाई हमाससँग युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । यद्यपि, नेतन्याहुले गाजा अभियानलाई तीव्र पार्न र हेजबुल्लाहको सामना गर्न आवश्यक हतियार उपलब्ध नगराएको भन्दै बाइडेन प्रशासनमाथि झुटो आरोप लगाएका छन् ।

हेजबुल्लाहको सामथ्र्य :  निःसन्देह हेजबुल्लाह लामो समयदेखि इजरायलका लागि एक तगारो बनेको छ । अमेरिकी कांग्रेसलाई गरेको सम्बोधनमा नेतन्याहुले हेजबुल्लाह र इरानसँग लड्नु इजरायलका लागि मात्र नभई अमेरिकाका लागि पनि महत्वपूर्ण रहेको तर्क गरेका छन् । ‘उत्तरी इजरायलमा हाम्रा ८० हजार नागरिकले आफ्नो घर खाली गरेका छन् र यी नागरिक आफ्नै भूमिमा शरणार्थी बनेका छन् । यिनलाई घर फर्काउन हामी प्रतिबद्ध छौँ । हामी यसलाई कूटनीतिक माध्यमबाट हासिल गर्न चाहन्छौँ । तर, इजरायलले आफ्नो उत्तरी सिमानामा सुरक्षा पुनस्र्थापना गर्न र हाम्रा मानिसलाई सुरक्षित रूपमा आफ्ना घरमा फिर्ता गर्न जे पनि गर्नुपर्छ भन्नेमा म स्पष्ट छु,’ नेतन्याहुले कंग्रेसमा भनेका थिए ।

सम्भावित द्वन्द्व रोक्न गाजामा युद्धविराम गर्नुपर्छ र प्यालेस्टिनी मुद्दाको दिगो समाधानको आधार निर्माण गर्न बन्धक आदान–प्रदानमा सहमति हुनुपर्छ 

सन् १९८० को सुरुवातदेखि इजरायलले बारम्बार हेजबुल्लाहलाई कमजोर वा निमिट्यान्न गर्ने प्रयास गरे पनि असफल हुँदै आएको छ । इजरायलले सन् २००६ मा सैन्य कारबाहीसमेत गरेको थियो, तर असफल रह्यो । हेजबुल्लाहको लचिलोपनले आफ्नो स्थिति र इरान एवं हमासजस्ता सहयोगीको स्थिति पनि बलियो बनाएको छ । आज हेजबुल्लाह विश्वको सबैभन्दा शक्तिशाली उपराष्ट्रिय लडाकु समूह बनेको छ । यो संगठनसँग एक लाख अनुभवी लडाकु, विशाल कोतघर (जहाँ क्षेप्यास्त्र र ड्रोनजस्ता उपकरण पनि छन्) र बलियो संगठनात्मक शक्तिको छ । यो इरानको नेतृत्वमा रहेको सिया ‘प्रतिरोधको अक्ष’मा एक प्रमुख खेलाडी पनि हो । यो संगठनका सदस्यले सहादतलाई आस्थाका रूपमा महत्व दिन्छन् ।

इरानका नवनिर्वाचित सुधारवादी राष्ट्रपति मसुद पेजेस्कियानले इजरायलविरुद्ध हेजबुल्लाहलाई तेहरानको बलियो समर्थनलाई पुनः पुष्टि गरेका छन् । सम्भावित द्वन्द्वमा हेजबुल्लाहले इरान र यसका छद्म बल र तालिबानलगायत अन्तर्राष्ट्रिय इस्लामिक लडाकु संगठनबाट हजारौँ लडाकु पाउने सामथ्र्य राख्छ । इजरायल, अमेरिका र अन्य सहयोगीले हेजबुल्लाहलाई आतंककारी समूहको बिल्ला भिराए पनि अरब लिगले हालै हेजबुल्लाहलाई आतंककारी समूहमा नराख्ने निर्णय गरेको छ । यो निर्णयले अरब र मुसलमान विश्वमा हेजबुल्लाहको बढ्दो लोकप्रियतालाई प्रतिबिम्बित गरेको छ ।

एक वृहत् सम्झौताको आवश्यकता : इजरायललाई अब मध्यपूर्वमा प्रमुख शक्तिका रूपमा लिइँदैन । गाजा युद्ध र हेजबुल्लाह, यमनी हुथी र इरानसँग इजरायलको बढ्दो सैन्य कारबाहीले इजरायलको कमजोरी प्रकट गरिरहेको छ । गाजामा जस्तै बेरुतलाई ध्वस्त पार्ने शक्ति इजरायलसँग भए पनि कुनै किसिमको लचिलोपन वा स्थिरतासाथ इजरायल हेजबुल्लाहसँगको युद्धबाट बाहिर निस्कन सक्दैन अर्थात् इजरायललाई प्रत्यक्ष अमेरिकी संलग्नता खाँचो छ ।

अमेरिकाले इजरायलको सुरक्षामा आफ्नो हरसम्भव सहयोग गर्ने प्रतिबद्धतामा जोड दिँदै आएको छ । तर, लेबनानका सन्दर्भमा हुने युद्धमा इजरायललाई समर्थन गर्नु अमेरिकाका लागि कठिन हुनेछ विशेषतः निर्णायक चुनावका समयमा निकै गाह्रो हुनेछ । अमेरिकाले हेजबुल्लाहविरुद्धको युद्धमा प्रत्यक्ष संलग्नता जनाए यसले सम्भवतः इरानका लागि रुसी, चिनियाँ र उत्तर कोरियाली समर्थन बढाउनेछ । नतिजा हेजबुल्लाह र ‘प्रतिरोधको अक्ष’का अन्य तत्व बलियो बन्नेछन् । एक बृहत् सम्झौता जसमा इजरायल, हेजबुल्लाह र यसका बाह्य समर्थकले इजरायल–लेबनानी सीमाको दुवैछेउमा पारस्परिक रूपमा स्वीकार्य मध्यवर्ती सुरक्षा क्षेत्र सिर्जना गर्न कूटनीतिक समाधानमा पुग्न आवश्यक छ ।

यसलाई हासिल गर्न गाजामा युद्धविराम गर्नुपर्छ र प्यालेस्टिनी मुद्दाको दिगो समाधानको आधार निर्माण गर्न बन्धक आदान–प्रदानमा सहमति हुनुपर्छ । नेतान्याहुले अहिलेसम्म यसको विरोध गर्दै आएका छन् । युद्धविराम गरे नेतान्याहु सत्ताच्यूत हुन सक्छन् र सम्भावित रूपमा घुसखोरी एवं ठगीको आरोपमा जेल जान सक्छन् । मध्यपूर्वको इतिहासले बारम्बारको सशस्त्र द्वन्द्व र बाह्य हस्तक्षेपले शान्ति एवं स्थायित्व नआएको देखाएको छ । बरु यी हस्तक्षेपले यस क्षेत्रको समस्यालाई थप विकराल मात्रै बनाएको छ । मध्यपूर्वको स्थिति विस्फोटक छ, यसलाई रोक्न सबै पक्षका प्रमुख विजयी हुनैपर्छ ।
(सैकाल अस्ट्रेलियन नेसनल विश्वविद्यालयका मध्यपूर्व एवं मध्य एसिया अध्ययनका इमिरेट्स प्राध्यापक हुन्) द कन्भर्सेसनबाट

सुझावित समाचार