धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : अब ‘एआई’बाटै सेयर बजारको अनुगमन

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकता (एआई)बाटै सेयर बजारको अनुगमन तथा सुपरिवेक्षण गर्ने नीति ल्याएको छ । बोर्डले आइतबार चालू आर्थिक वर्ष ०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याउँदै यस्तो घोषणा गरेको हो । 

धितोपत्र तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली सञ्चालनमा छन् । त्यस्तै, प्रणाली नेपालमा पनि प्रयोगमा ल्याउन अध्ययन गरिने बोर्डको नीति छ । ‘धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेको एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली प्रयोगमा ल्याउन अध्ययन गर्ने,’ नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसैगरी, बजार सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन सुपरभाइजरी इन्फर्मेसन सिस्टम विकास गरी कार्यान्वयनमा ल्याउन अध्ययन गर्ने पनि बोर्डको कार्यक्रम छ । यस्तै, ‘केन्द्रीय पुँजी बजार तथ्यांक पोर्टल’ स्थापना गर्न अध्ययन गर्ने कार्यक्रम बोर्डले ल्याएको छ । पुँजी बजारसम्बन्धी तथ्यांकहरूको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताका लागि यस्तो कार्यक्रम अघि बढाएको बोर्डको भनाइ छ । ‘पुँजी बजारसम्बन्धी तथ्यांकहरूको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंक–पोर्टल स्थापना सम्बन्धमा अध्ययन गर्ने,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, बोर्डको आफ्नै डेटा सेन्टर स्थापना गर्ने र धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने तयारी गरेको छ । आइपिओ अलोटमेन्ट गर्ने सफ्टवेयरको पहुुँच तथा अन्य प्राविधिक पक्षहरूका सम्बन्धमा अध्ययन गरी आवश्यक सुधार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसैगरी धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरको जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्नेे पनि बोर्डको नीति छ । धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको वास्तविक समयअनुसार निगरानी गर्ने पनि बोर्डको तयारी छ । हकप्रद सेयर र संस्थापक सेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न ‘स्वचालित लिलामी प्रणाली’ कार्यान्वयनमा ल्याउने पनि बोर्डको कार्यक्रम छ । गुनासो तथा उजुरी समाधान सम्बन्धमा केन्द्रीकृत गुनासो व्यवस्थापन प्रणालीको व्यवस्था गरिने भएको छ ।  

यस्तै, बोर्डले आफ्नै लागि घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने भएको छ । पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापनासम्बन्धी सम्भाव्यता अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । बजेट वक्तव्यमा उल्लेख भएअनुसार वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाउने बताइएको छ । यस सम्बन्धमा वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरू तर्जुमा गर्ने बताइएको छ । साथै, वस्तु विनिमय बजारको अनुमतिपत्र प्रदान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै, हरित बन्ड, ऊर्जा बन्डलगायत अन्य नयाँ वित्तीय औजारहरूको निष्कासन तथा कारोबार गर्न कानुनी व्यवस्था गरिने पनि बताइएको छ । यस्ता बन्डका लागि एकीकृत स्वचालित ऋणपत्र बजार सञ्चालन व्यवस्थासम्बन्धी आवश्यक अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार गराउने नीति पनि बोर्डले लिएको छ । यसका लागि आवश्यक अध्ययन गरी सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बुक बिल्डिङसम्बन्धी व्यवस्था परिमार्जन गरिने 
बोर्डले बुक बिल्डिङ विधिमार्फत गरिने सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने नीति पनि अघि सारेको छ । पटक–पटक विवाद आउन लागेपछि बोर्डले यस्तो नीति अघि बढाएको हो । धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधिसभा र सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने पनि बोर्डको भनाइ छ । धितोपत्रको सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरूपता कायम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुझावित समाचार