प्रेरक प्रसंग : ज्योतिषी र व्यापारी

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

एकपटक सहरमा एक प्रसिद्ध ज्योतिषीको आगमन भयो । उनी देशकै नाम चलेका विद्वान् ज्योतिषी थिए । उनको जिब्रोमा सरस्वती विराजमान भएको विश्वास गरिन्थ्यो । उनले जीवनमा जेजति भविष्यवाणी गरेका थिए, ती सबै सत्यसाबित भएका थिए भन्ने चर्चा सुनिन्थ्यो । 

सहरमा उनको आगमन भएपछि उनलाई बस्नका लागि एक सरकारी आवास उपलब्ध गराइएको थियो । उनलाई आफ्ना हात, चिना वा टिपन देखाएर आफ्नो भविष्य जान्न चाहनेको भिड बाक्लो थियो । उनी पालैपालो उपस्थित मानिसको भविष्य बताउँदै थिए । उनको चर्चा सुनेर बजारका एक धनाढ्य व्यापारी पनि आफ्नो भविष्य जान्न उनीकहाँ पुगे । आफ्नो पालो आएपछि उनले राम्रै भेटी अर्पण गरेर आफ्नो जिज्ञासा ज्योतिषीसामु राखे– ज्योतिषी महाराज, मेरो मृत्यु कहिले, कहाँ र कस्तो पस्थितिमा होला ? कृपया प्रस्ट बताइदिनुहोस् न ! 

ज्योतिषीले गम्भीर हुँदै व्यापारीका हस्तरेखा हेरे । उनको अनुहार र निधार पनि राम्ररी हेरे । स्लेटमाथि केही अंक लेखे र जोडघटाउ पनि मिलाए । त्यसपछि निकै गम्भीर स्वरमा उनले भने– महाशय, तपाईंका हस्तरेखाले तपाईंको भविष्यबारे धेरै कुरा बताएका छन् । यथार्थमा तपाईंका पिताको आयु जति हुनेछ, तपाईंको पनि त्यति नै हुनेछ । जुन परिस्थितिमा जे–जसरी तपाईंका पिताको मृत्यु हुनेछ, तपाईंको पनि सोही स्थानमा त्यसरी नै मृत्यु हुनेछ । 

ज्योतिषीको भविष्यवाणी सुनेपछि व्यापारी गम्भीर हुँदै उठे । उनी त्यहाँबाट बिस्तारै बाहिर निस्किए । एक घन्टापछि तिनै व्यापारी वृद्धाश्रमबाट आफ्ना पितालाई साथमा लिएर घर फर्किए ।

सुझावित समाचार