प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरूसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले पहिलोपटक सिंहदरबारमा सचिवहरूको संयुक्त बैठक राखेर ब्रिफिङ लिएका हुन्। बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म चलेको थियो।
प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार बैठकमा सरकारका सबै सचिव र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
बैठकमा सचिवहरूले छुट्टाछट्टै रूपमा प्रधानमन्त्रीसँग मातहतका मन्त्रालय तथा कार्यालयका गतिविधिबारे जानकारी गराए। निजी सचिव कुँवरका अनुसार सचिवहरूबाट ब्रिफिङ सुनेपछि मंगलबार प्रधानमन्त्रीले निर्देशन दिने तय भएको छ।