आइतबार बिहान करिब ३ बजे पहिरोले गोरखामा कृषि फर्म र घर बगाउदा पाँचजना बेपत्ता भएका छन्।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार उत्तरी गोरखाको धार्चे गाउँपालिका– ५ सिड्लास्थित रेसेफाँटमा स्थानीय जितबहादुर गुरुङको घर र गोठ पहिराले बगाउँदा पाँचजना बेपत्ता भएका हुन्।
पहिरोमा परी बेपत्ता हुनेमा जितबहादुरसहित उनकी श्रीमती कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ, कामदार रमेश गुरुङ र ट्याक्टरचालक रमेश परियार रहेका छन्।
पहिरोमा परी घाइते भएका दिलीप गुरुङ र खमबहादुर गुरुङलाई हेलिकाेप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ। पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्यका लागि नेपाल प्रहरी र नेपाली सेनासहितको २५ जनाको टोली जेसिभीसहित घटनास्थल पुगिसकेको छ।
बिहान ११ बजेदेखि नै खोजीकार्य सुरु भएको प्रशासनले जनाएको छ। घटना भएको स्थान गोरखा सदरमुकामदेखि करिब ७६ किलोमिटर दूरीमा छ भने घटनास्थलसम्म सडक सञ्जाल पुगेको छैन।