नेप्से २९ महिनायताकै उच्च विन्दुमा

सबैलाई रिझाउने मौद्रिक नीतिले लगानीकर्तामा जगायो आशा

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

मौद्रिक नीति जारी भएपछिको पहिलो कार्यदिन सेयरबजारमा लगानीकर्ताहरू उत्साही देखिएका छन्। सबैलाई रिझाउने गरी मौद्रिक नीति आएपछिको पहिलो कारोबारमै नेप्सेले एक सय १३ अकंको वृद्धि गरेको छ।

आइतबार नेप्से २६ सय ८१ विन्दुमा आइपुगेर बन्द भएको छ। यो ११ फागुन ०७८ यता अर्थात् २९ महिनायताको उच्च विन्दु हो। सो समय नेप्से २७२० विन्दुमा थियो। 

आइतबार १५ करोड ८१ अर्ब रुपैयाँको कारोबार भएको छ भने नेपाल स्कट एक्सचेन्जले चार करोड कित्ता सेयर बिक्री भएको जनाएको छ।

मौद्रिक नीतिले विशेषगरी संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा खारेज गरिएको र दुई करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर साढे दुई करोड रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेपछि सेयरबजारमा लगानीकर्ता आश्वस्त भएको देखिएको छ।

आइतबार बजार सुरु हुँदा नै नेप्सेमा उच्च वृद्धिको संकेत मिलेको थियो। दुईपटक सकारात्मक सर्किट लागेको थियो भने त्यसपछि बजार केही सम्हालिएको थियो। अन्तिम एक घण्टा पुनः बजारले उकालो यात्रा तय गरेको हो।

यसअनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटाको मात्र घटेको छ भने आठवटाको बिहीबारकै मूल्यमा कारोबार भएको छ। आज वाणिज्य बैंक, लगानी, विकास बैंक र जीवन बिमा समूहमो उछाल आएको छ।

बजार खुलेको पहिलो दिन अधिकांश वाणिज्य बैंकहरूको सेयरमा सकारात्मक सर्किट लागेको छ। गिरावट आएका कम्पनीमध्ये गणपति लघुवित्तको ९.३५ प्रतिशतले घट्नेबाहेक अन्य कम्पनीको सेयर मूल्य सामान्य दरले ऋणात्मक बनेका छन्। 

सुझावित समाचार