नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पहिरोपीडितको उद्धारका लागि बोलाउँदा सैनिक हेलिकोप्टर नगरएर निजीलाई बोलाइएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निजी हेलिकोप्टरले उडान भरिरहँदा सैनिक हेलिकोप्टर खराब मौसमबाट प्रभावित भएको भन्ने विषयमा प्रश्न गरेका हुन्।
गोर्खा जिल्लाको धार्चे गाउँपालिका– ५ रेसेमा आज बिहान ३ बजेतिर ठूलो पहिरो जाँदा स्थानीय जितबहादुर गुरुङ, सोलाल गुरुङ, रमेश गुरुङ र रमेश परियार बेपत्ता भएका उल्लेख गर्दै सांसद बजगाईंले दुईजना घाइतेलाई निजी हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको बताए।
‘नेपाल सरकारसँग हेलिकोप्टर उद्धारका लागि याचना गर्दा गृह मन्त्रालयले हेलिकोप्टर उद्धारमा विलम्ब गर्याे र प्राइभेट हेलिकोप्टर कम्पनी गयो । नुवाकोट र धादिङको आकाशमा प्रतिकूल मौसमका कारण सैनिक हेलिकोप्टर उड्न सकिएन भनिएको थियो । तर, यो निजी कम्पनीले कसरी उडान गर्याे र उद्धार भयो ?’ उनले प्रश्न गरे।
यस विषयमा छानबिन गर्न माग गर्दै उनले आगामी दिनमा यस्ता समस्या नहोस् भन्नेमा सरकारलाई सचेत गराए। बजगाईंले भने, ‘सैनिक हेलिकोप्टरलाई लाग्ने प्रतिकूल मौसमको समस्या प्राइभेट हेलिकोप्टरलाई किन भएन ? अथवा जोखिममा उडान भर्नुभयो कि ? यसमा छानबिन गर्ने हो कि ?’