कुनै समय सल्यान बाफुखोलाका किसानहरूको रोजीरोटी जुटाउने एक मात्र माध्यम थियो कालापहाड (भारत) । सडक सञ्जालले नछोएको र स्थानीय उत्पादनले पनि बाह्रै महिना खान नपुग्ने भएपछि उनीहरूको मुख्य विकल्प भनेकै कालापहाड थियो । ठूलो कक्षामा पढ्ने विद्यार्थी तथा रोजगारीमा लागेकाबाहेक परिवार नै उठेर रोजगारीका लागि कालापहाड जानु यहाँका किसानको दिनचर्या नै बनेको थियो। तर, अहिले व्यावसायिक आलुखेतीले बाफुखोलावासीको जीवनशैली परिवर्तन भएको छ। आलुखेतीपछि अरूकोमा मजदुरी गर्नुपर्ने बाध्यतासमेत हटेको छ। अहिले यहाँकोे सिंगो गाउँ नै आलुखेतीमा लागेको छ। जसले वाफुखोलालाई आलुगाउँका रूपमा समेत चिन्ने गरिन्छ।
सल्यान बागचौर नगरपालिका– १२ बाफुखोलाका रतिराम ओलीले कुनै समय बारीमा उत्पादन हुने गहुँ, जौको मात्र खेती गर्थे। रोजिरोटी नचल्ने देखेपछि परिवारसहित कालापहाड गए। गाउँमा आलुखेती हुन्छ रे, भन्ने सुनेपछि उनी फेरि गाउँ फर्केर आलुखेती सुरु गरे। अहिले आलुखेतीले जीवनशैली नै परिवर्तन भएको उनको भनाइ छ। आलुखेतीबाट राम्रो आम्दानी हुन थालेपछि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए। ‘मौसमले साथ दिएमा वार्षिक एक सयदेखि एक सय ५० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको छ। जसबाट छोराछोरीको शिक्षादीक्षा तथा घर चलाउन कसैको अघि हात फिँजाउन पर्दैन,’ उनले भने।
बाफुखोलाकै ध्वजबहादुर वली पनि १२ वर्षको उमेरदेखि रोजगारीका लागि कालापहाड गए। अहिले व्यावसायिक आलुखेतीले उनको दिनचर्या नै फेरिएको छ। कुनै वेला रोजगारी खोज्दै भौँतारिने उनी अहिले आलु तथा आलुको बिउ खोज्दै व्यापारी बारीमै आउँदा मख्ख पर्छन्। यो वर्ष मात्र एक सय क्विन्टल आलु बिक्री भइसकेको र अझै बिक्री गर्न बाँकी रहेको उनले बताए।
बागचौर नगरपालिका ११ र १२ का सबै किसान व्यावसायिक आलुखेतीमा लागेपछि यहाँका सामान्य किसानले पनि ५० हजारदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। सडक सञ्जाल जोडिएसँगै उत्पादन गरेको आलु बिक्री गर्नसमेत कुनै समस्या छैन।
परम्परागत रूपमा गहुँ, जौको खेती गर्दै आएका यहाँका किसानले अहिले खेती परिवर्तन गरेर तीन बाली उत्पादन गर्न थालेका छन्। फागुनमा आलु लगाउँछन र त्यही आलुकै बीचमा मकै रोप्छन्। असारको अन्तिमसम्ममा मकैबारीबाट आलु निकालिसक्छन्। असोजमा मकै निकालेर फेरि तोरी लगाउँछन्। आलुखेतीसँगै यसरी वर्षमा तीन बाली उत्पादन गर्दा किसानलाई निर्वाहामुखीबाट माथि उठाउन सहयोग पुर्याएको छ।
बागचौर नगरपालिका– १२ का वडाध्यक्ष टीकाराम ओलीले बर्खे आलुखेतीमा लागेपछि यहाँका किसानको जीवनस्तरमा उल्लेख्य सुधार आएको बताए। ‘बस्तीमा पहिले कसैको ढुंगे तथा टिनले छाएको घर थिएन। सबैका खरले छाएका मात्र थिए। अहिले सबैका टिनले छाएर चिटिक्क पारेका छन्, धेरैले जग्गा जमिन जोडेका छन्, छोराछोरीलाई सहरतिर पढाउँछन्,’ उनले भने। किसानले फलाएको आलु बिक्री गर्न कुनै समस्या नभएको उनको भनाइ छ।
बागचौरका करिब १२ सय किसानले व्यावसायिक रूपमा आलुखेती गर्दै आइरहेका छन। व्यावसायिक आलुखेती गर्न थालेपछि स्थानीयको कालापहाड जाने क्रम रोकिएको मात्रै छैन, आयआर्जनको राम्रो स्रोतसमेत बनेको छ। जिल्लाभर ४० करोडको आलु उत्पादन हुने गरेको छ। पछिल्लो समय जिल्लाका अन्य ठाउँहरूका किसानहरूले पनि आलुखेती गर्न थालेका छन्।
आलु उत्पादन हुने बागचौर नगरपालिका वडा नम्बर ४, ११, १२ सहित दार्माको वडा नम्बर ५, छेत्रेश्वरीको २, ३ ५ वडालाई आलु पकेट क्षेत्र घोषणा गरेको कृषि विकास कार्यालय सल्यानका प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार जिल्लामा दुई हजार ३७० हेक्टर क्षेत्रफलमा वर्षे र एक हजार ७२० हेक्टर क्षेत्रफलमा हिउँदे आलुखेती हुँदै आइरहेको छ। सल्यानमा उत्पादन भएको आलु दाङ, नेपालगन्ज, बुटवल, पोखरा, धनगढीलगायतका सहरमा जाने गरेको छ।