लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ।
साउन १४ गतेदेखि भदौ मसान्तसम्मका आठवटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए।
केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ। यो अफरअनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि पाँच सय रुपैयाँ मात्र तिर्नुपर्नेछ। ‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागू हुन्छ, तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्,’ अपरेसन म्यानेजर कायस्थले भने।
सोबाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ। मर्निङ अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरूले पाँच सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ। केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गामाता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ। मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको म्यानेजर प्रज्ज्वल घिमिरेले बताए।
टप स्टेसनमा जिपलाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वरपीपल चौतारी, पोखरीलगायतका धार्मिक संरचनाहरू रहेका छन्। केबलकारले प्रत्येक टिकट शुल्कको दुई प्रतिशत रकम सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिँदै आएको छ।