प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालय हुँदै आएकाे धान, चामलकाे आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष ०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्यबराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलोग्राम धान नेपाल आयात भएको छ ।
आव ०७९/८० को तुलनामा आव ०८०/८१ मा धान आयातको परिमाण ४४.६० प्रतिशतले घटेको हो । सरकारले प्राप्त गर्न राजस्व पनि ३९.८१ प्रतिशतले घटेको छ। सरकारले गत आवमा धान आयातबापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार राजस्व संकलन गरेको थियो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताए । ‘वीरगन्ज भन्सार कार्यालय हुँदै आयात हुने धान, चामलको परिमाण ठूलो मात्रामा घटिरहेको छ,’ उनले भने, ‘धान, चामलको आयात मात्रै होइन। राजस्व संकलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ।’ वीरगन्ज भन्सार कार्यालय हुँदै आव ०७९/८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको छ । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार ३३९ किलोग्राम धान आयात गरिएको थियो । सो धान आयात हुँदा सरकारले राजस्वबापत ६७ करोड ३४ लाख ६३ हजार संकलन गरेको थियो ।
आव ०८०/८१ म वीरगन्ज भन्सार कार्यालय हुँदै एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्यबराबरको एक करोड ३२ लाख ४१ हजार ३७३ किलोग्राम चामल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यो भन्सार कार्यालय हुँदै आयात हुने चामलको परिमाणमा ६३.८० प्रतिशतले गिरावट आएको छ । कार्यालयले चामल आयातबापत प्राप्त गर्ने राजस्व पनि ४१.८ प्रतिशतले घटेको देखिन्छ । गत आवमा चामल आयात हुँदा राज्यले १९ करोड ८७ लाख ३० हजार राजस्व संकलन गरेको छ ।
आव ०७९/८० मा भने दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार ६८३ किलोग्राम चामल आयात भएको थियो । सो चामल आयात हुँदा राज्यले २३ करोड ४३ लाख ८३ हजार राजस्व संकलन गरेको थियो ।
गत आवमा धान र चामलको आयात घटे पनि खाद्यान्न मकैको आयात भने केही बढेको छ । आव ०८०/८१ मा खाद्यान्न मकै भने पाँच अर्ब ५९ करोड १९ लाख एक हजार मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको छ । सो मकै आयात हुँदा राज्यले २७ करोड ७४ लाख १० हजार राजस्व संकलन गरेको छ । आव ०७९/८० को तुलनामा आव ०८०/८१ खाद्यान्न मकैको आयात भने परिमाणमा ३.७२ प्रतिशतले बढेको छ । राजस्व रकम पनि अघिल्लो आवको तुलनामा १८.३६ प्रतिशतले बढेको छ ।