प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको उड्डयन क्षेत्र सुधार गर्न सरोकारवाला निकायलाई ६ बुँदे निर्देशन दिएको छ । समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आइकाओ)को सेफ्टी अडिट रिपोर्ट एक साताभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई यस्तो निर्देशन दिएको हो ।
आइकाओले सन् २०२२ मा गरेको अडिटमा क्यानलाई नियामक र व्यवस्थापक छुट्टाछुट्टै निकाय बनाउन सुझाव दिएको र युरोपेली युनियन (इयू)को पनि सोही धारणा रहेको विषयमा सांसदहरूले उठाएका थिए । तर, सरकारले त्यो रिपोर्ट नै लुकाएर राखेको उदयशमशेर जबरालगायतका सांसदहरूले आरोप लगाए । इयूले सन् २०२३ मा नेपालमा गरेको अनसाइट एसेस्समेन्टको प्रतिवेदनमा औँल्याइएका विषयहरूमा नेपालले कहिलेसम्म सुधार गरिसक्छ, स्पष्ट कार्ययोजना तत्कालै पेस गर्न पनि पर्यटन मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । इयूले नेपाली उडान सुरक्षामाथि चासो राख्दै सन् २०१३ देखि कालोसूचीमा राख्दै आइरहेको छ ।
समितिले नेपाली वायुसेवाले कोरियामा उडान गर्न अपनाउनुपर्ने रणनीति समितिलाई यथाशीघ्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ । १ माघ ०७९ मा पोखरामा भएको यती एयरलाइन्स दुर्घटना सम्बन्धमा गठित छानबिन समितिले पेस गरेको प्रतिवेदन पनि साताभित्र पेस गर्न भनेको छ ।
पर्यटनमन्त्री बद्री पाण्डेले कोरिया उडानमा कोरियन एयरलाइन्सको एकाधिकार हुँदा टिकटको मूल्य नै प्रतियात्रु १६ सय अमेरिकी डलरसम्म तिर्नुपरेको गुनासो समितिमा राखेका थिए ।
क्यानका महानिर्देशक प्रदीप अधिकारीले पनि कोरियामा सीधा उडान अत्यावश्यक रहेको औँल्याउँदै कोरियन पक्षबाट क्यानकै अडिट गर्नुपर्ने प्रस्ताव आएपछि प्रक्रिया अगाडि बढ्न नसकेको बताए । नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेवानिलाई कोरिया उडानका लागि पहलकदमी गर्नुपर्ने बताएका थिए ।
समितिका एकपछि अर्को दुर्घटना हुँदै जानुमा नियामक निकाय र वायुसेवा अपरेटरको अटेरी रहेको सांसदहरूले आरोप लगाएका छन् । सांसद उदयशमशेर जबराले अघिल्लो वर्ष भएको यतीको कहालीलाग्दो दुर्घटनापछि पनि सुध्रिन नसकेको भन्दै क्यान नेतृत्वको आलोचना गरे । उनले भने, ‘क्यान आफैँ झाँक्री आफैँ बोक्सी हुँदा हवाई सुरक्षा कमजोर हुँदै गइरहेको छ ।’ ठूलो धनराशि खर्च गरेर भैरहवा र पोखरामा बनाइएको अन्तर्राष्ट्रिय एयरपोर्टमा पनि दुई वर्षसम्म एउटै अन्तर्राष्ट्रिय उडान नहुनु दुर्भाग्य रहेको उनले बताए ।
यस्तै, सांसद सुनीता बरालले क्यानलाई नियामक र व्यवस्थापकमा छुट्याउन नसकेमा हवाई सुरक्षा अभिवृद्धि नहुने बताइन् । सांसद शिशिर खनालले पनि छोटो अवधिमा यति धेरै दुर्घटना हुनु दुर्भाग्य रहेको बताए । पूर्वपर्यटनमन्त्री एवं सांसद सुदन किराँतीले क्यान टुक्र्याउने विधेयक सदनमा पुगेर पनि तलै फर्किएको बताए ।
समितिका सभापति यादवले बुधबार भएको दुर्घटनाको विषयमा प्रश्न गरेपछि क्यानका महानिर्देशक अधिकारीले अहिले अनुमान मात्रै गर्न सकिने, तर वास्तविकता छानबिनपछि मात्र पत्ता लाग्ने बताए । उडानमा असम्बन्धित व्यक्तिलाई किन चढाइयो भन्ने प्रश्नमा क्यानका निर्देशक मुकुल मिश्रले भने, ‘सौर्यको टेक्निकल्ली रूपमा ‘फेरी’ फ्लाइट थियो, तर ऊसँग पर्याप्त उडानयोग्य समय रहेको हुँदा कम्पनी फ्लाइट पनि भन्न मिल्छ, विदेशतिर यस्तो उडानलाई कम्पनी फ्लाइट भन्ने गरिन्छ ।’
समितिको निर्देशन
- नागरिक उड्डयन सम्बन्धमा नियमन र सेवाप्रदायकसम्बन्धी विधेयकहरूको वर्तमान अवस्था समितिलाई यथाशीघ्र उपलब्ध गराउने ।
- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नेपाल सम्बन्धमा पछिल्लो समय प्रकाशित सेफ्टी अडिट रिपोर्ट एक साताभित्र उपलब्ध गराउने ।
- इयूले सन् २०२३ मा नेपालमा गरेको अनसाइट एसेस्मेन्टको प्रतिवेदनमा औँल्याइएका विषयमा नेपालले कहिले सुधार गरिसक्छ, सोका लागि स्पष्ट कार्ययोजना समितिमा यथाशीघ्र पेस गर्ने ।
- नेपाली वायुसेवाले हाल कोरियामा उडान गर्न नपाइरहेको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, सो सम्बन्धमा अपनाउनुपर्ने रणनीति समितिलाई यथाशीघ्र उपलब्ध गराउने ।
- १ माघ ०७९ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा गठित छानबिन समितिले पेस गरेको प्रतिवेदन एक हप्ताभित्र समितिमा उपलब्ध गराउने ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका पसल–कबलसँग भएका सम्झौता, पसल–कबल सञ्चालनमा रहेका समस्या एवं समाधानका उपायसहितको योजना एक हप्ताभित्र समितिमा पेस गर्ने ।