नेपाली महिला क्रिकेटरले अन्तर्राष्ट्रिय एक्सपोजरसँगै ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गर्नुपर्ने कप्तान इन्दु बर्माले बताएकी छिन् । श्रीलंकाको दाम्बुलामा सञ्चालन भइरहेको एसिसी महिला एसिया कप टी–२० को समूह चरणबाटै बाहिरिँदै बिहीबार स्वदेश फर्किएको नेपाली टोलीकी कप्तान बर्माले प्रतियोगितामा अनुभवको कमी भएको बताइन् ।
‘एसिया कपपछि हामीलाई अनुभवको आवश्यकता भएको महुसस भएको छ,’ अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा उनले भनिन्, ‘अन्तर्राष्ट्रिय एक्सपोजरको कमीसँगै ब्याटिङ, फिल्डिङ र बलिङमा धेरै सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ नेपालले समूह ‘ए’को पहिलो खेलमा युएईलाई ६ विकेटले हराएको थियो । एसिया कपमा नेपालले ऐतिहासिक रूपमा पहिलो जित दर्ता गरेको थियो । यसअघि दुईपटकको सहभागितामा नेपाल जितविहीन थियो । यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
तेस्रो सहभागितामा नेपालले भारत र पाकिस्तानविरुद्ध खेल्ने अवसर पाएको थियो । दोस्रो खेलमा पाकिस्तानसँग नौ विकेट र भारतसँग तेस्रो खेलमा ८२ रनले पराजित भएपछि नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियो । नेपाल आफ्नो समूहमा २ अंकका साथ तेस्रो भएको थियो । कप्तान बर्माले भारत र पाकिस्तानजस्ता बलियो प्रतिद्वन्द्वीविरुद्ध खेल्दा धेरै पक्षमा सुधारको आवश्यक भएको बताइन् । ‘भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधारको आवश्यकता रहेको पायौँ, प्रतियोगितामा एक जितका साथ ऐतिहासिक सफलता निकाल्यौँ, तर ठूला टोलीविरुद्ध खेल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गर्न आवश्यक छ,’ उनले भनिन् ।
युएईलाई हराउने लक्ष्य पूरा
कप्तान बर्माले युएईसँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताइन् । ‘सुरुदेखि नै युएईलाई जितेर इतिहास रच्ने योजना बनाएका थियौँ, जुन सफल भयो,’ उनले भनिन्, ‘पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य थियो, तर सोचेजस्तो भएन । तर, टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना रहेको देखायौँ ।’
नेपाली खेलाडी फ्लड लाइटमा खेल्न बानी नभए पनि दाम्बुलामा केही समस्या नआएको कप्तान बर्माको भनाइ छ । ‘फ्लड लाइटमा खेल्दा फिल्डिङमा केही गल्ती भए पनि सोचेजस्तो धेरै समस्या आएन,’ उनले भनिन्, ‘भारत र पाकिस्तानजस्ता टोलीसँग खेल्दा दबाबबीच कसरी खेल्ने लगायत पक्ष सिकेर आएका छौँ ।’