सयभन्दा बढी शैक्षिक संस्थालाई सम्बन्धन दिने सिटिइभिटीको तयारी

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी)ले लामो समयदेखि सम्बन्धन रोकिएको निजी शैक्षिक संस्थाहरूको सम्बन्धन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । ०७९ देखि आवेदन दिएर पनि सम्बन्धन पाउन नसकेका सयभन्दा बढी संघसंस्थालाई सरकारले मापदण्ड हेरेर सम्बन्धन दिने तयारी गरेको हो । 

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी संस्थाहरूलाई सम्बन्धन दिन सिटइभिटीलाई दबाब दिइरहेको छ । समितिका सभापति अम्मरबहादुर थापाले पनि सम्बन्धन प्रक्रियालाई अघि बढाइने बताए । ‘सिटिइभिटीले सम्बन्धन नदिएको भनेर समितिमा उजुरी आएको छ, मौखिक रूपमा पनि जानकारी आएको छ,’ उनले भने, ‘नियमअनुसार भएकालाई सम्बन्धन दिन के समस्या होला र ?’ 

आफूहरूलाई लामो समयदेखि आवेदन दिए पनि सरकारले बेवास्ता गरेको भन्दै निजी संस्थाहरूले समितिमा उजुरी दिएका छन् । सिटिइभिटीअन्तर्गत प्राविधिकतर्फका इन्जिनियरिङ तथा मेडिकल शिक्षाका कार्यक्रम सञ्चालन गरिन्छ । हाल सिटिइभिटीअन्तर्गत ६३९ वटा शैक्षिक संस्थाबाट भइरहेका कार्यक्रममा २७ हजार ४३३ विद्यार्थी सहभागी छन् । सिटिइभिटीले ४०७ निजी शैक्षिक संस्था, ६६ वटा सरकारी, ५७ वटा साझेदारीमा सञ्चालित शैक्षिक संस्था तथा स्थानीय तह र गैरनाफामूलक प्रतिष्ठानबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

सामुदायिक विद्यालयमा पनि टेक्निकल एजुकेसन इन कम्युनिटी स्कुल (टेक स्कुल) कार्यक्रम सञ्चालन भइरहेको सिटिइभिटीका सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए । उनका अनुसार लामो समयदेखि सम्बन्धन रोकिएका आवेदनलाई मापदण्ड हेरेर प्रक्रिया अघि बढाउने पहलसमेत गरिएको छ । निजी शैक्षिक संस्थाहरूको सम्बन्धनका सम्बन्धमा नयाँ प्रक्रिया अपनाउनुपर्ने र संघीयताको अभ्यास गर्नुपर्ने भन्दै ०६९ देखि सम्बन्धन रोकिएको थियो । प्रदेशबाट पनि सम्बन्धन दिनुपर्ने भन्दै सिटिइभिटीले सम्बन्धन रोकेको थियो ।
 

सुझावित समाचार